काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेमाथि सहकारी प्करण र पासपोर्ट प्रकरणमा छानबिन हुनु पर्ने माग गरेका छन् । रास्वपाबाट मंगलबार निष्कासित गरिएका पूर्वमहामन्त्री डा. मुकुल ढकालले बुधबार पत्रकारसम्मेलन गरेर उक्त माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा लामिछानेमाथि खनिएका उनले पासपोर्ट प्रकरणमा लामिछाने दोषी ठहर भए उनले चुनावै लड्न नपाउने भन्दै यो पार्टीका लागि महत्वपूर्ण विषय भएको बताए । उनले त्यसैले पार्टीबाटै यो प्रकरणमा छानबिन हुनुपर्ने बताए ।
लामिछानेले अमेरिकी र नेपाली गरी दोहोरो पासपार्ट प्रयोग गरेका थिए । उनले नागरिकता पनि निष्क्रिय रहेको अवस्थामा प्रयोग गरेका थिए । पछि अदालतले उनलाई यस प्रकरणमा दोषी ठहर गर्दै सांसद पदबाट समेत पदमुक्त गरिदिएको थियो । त्यसपछि लामिछानेले नेपाली नागरिकता लिएका थिए भने त्यसअघि बनाएको नेपाली पासपोर्ट राहदानी विभाग पुगेर बुझाएका थिए ।
यो विषयमा अहिले सर्वोच्च अदालतमा मुद्दाविचाराधीन छ ।
यस्तै गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेका बेला विभिन्न सहकारीको करोडौँ रकम सो प्रालिमा आएको भन्दै त्यसमा पनि लामिछानेमाथि छानबिन गर्न संसदले विशेष समिति नै बनाएको छ ।
ढकालले यी दुवै प्रकरण पार्टीको भविष्यसँग जोडिएको बताएका छन् । उनले पार्टीको बैठकमा आफूले टेप लगाएर बस्नु गल्ती भए पनि त्यसपछि आफूसँग कुनै छलफल नगरी बैठक चलाएकाले त्यो पनि गल्ती भएको बताए ।
यस्तो छ ढकालको भनाइ
म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निष्कासन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्न सक्छु । रास्वपालाई रवि लामिछाने क्लबको रुपमा कब्जा गरिएको छ । पार्टी एलिटको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिटको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरुले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ ।
सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसदको छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनु पर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।