काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्री प्रेम आलेले पार्टी छोडेका छन् ।
लामो समयदेखि पार्टी गतिविधिबाट टाढा रहेका उनी समाजवादीको काठमाडौंमा महाधिवेशन चलिरहँदा भारतमा घुम्न गएका थिए । अधिवेशन सकिनु एकदिन अघि काठमाडौं फर्किएका उनले पार्टीमा सक्रिय नरहेको बताए । एकीकृत समाजवादीले सार्वजनिक गरेको ९३ सदस्यीय केन्द्रीय समितिमा पनि उनको नाम समावेश छैन ।
समाजवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सय सदस्यीय हुन्छ । तर समाजवादीको पहिलो सूचीबाटै आले आउट भएका हुन् । २०७७ भदौमा नेकपा एमाले फुटेपछि उनी एकीकृत समाजवादीमा लागेर मन्त्रीसमेत भएका थिए ।
एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक उनको समाजवादीमा पनि सुरुदेखि नै अध्यक्ष माधव नेपालसँग मनमुटाव थियो ।
आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई यसअघि नै आफूले पार्टी काममा सक्रिय हुन नसक्ने तर आफ्नो क्षेत्रका जनताको काम गर्न नछोड्ने कुरा जानकारी गराएको बताए । पार्टी प्रति पछिल्लो चरणमा सांसद आले असन्तुष्ट थिए । आले एकीकृत समाजवादीकै तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बनेका थिए ।
विवादीत छविका आले नेकपा कालमा पनि चर्चामा थिए । पदको लागि जे पनि गर्ने छवि बनाएका आले एमाले विभाजन हुदा नेकपा एसमा लागेका थिए । पार्टी अनुशासनमा नबस्दा उनलाई पार्टीलेपनि सोध्न खोज्न छोडेको थियो ।