काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले नेपालको संविधान धारा ७६ (२) अनुसार दुई दल मिलेर सरकार बन्ने बताएको छ ।
शनिबार बसेको दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र त्यो पनि ७६(२) अनुसार बन्ने दाबी गरेको छ ।
यो भन्दा पहिला नै कांग्रेस कार्यसम्पादन समितिले नेकपा एमालेसँग भएको सातबुँदे सहमति अनुमोदन गरिसकेको छ ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डले २८ गते संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ८८ सिट भएको कांग्रेस र ७९ सिट भएको एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा नयाँ सरकार बनाउने सहमति भएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । दुबै दल मिल्दा सभामुख र निलम्बित सांसदलाई छोडेर १६५ सांसद हुन्छन् ।
तैपनि २८ असारमा विश्वासको मत लिने निर्णय गरे । साथै माओवादी नेताहरुले संविधानको धारा ७६(३) अनुसार नयाँ सरकार बन्ने दाबी गदै आएका छन् ।
संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा कुनै दलको प्रष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।
धारा ७६ (३) मा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन नसके वा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बनेका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा राष्ट्रपतिले प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
मंसिर २०७९ को चुनावमा कुनै पनि दलको प्रष्ट बहुमत नआएपछि एमाले, रास्वपासहितका दलको समर्थनमा माओवादी दलका नेता प्रचण्ड प्रधामन्त्री बनेका थिए । डेढ वर्षको अवधिमा उनले तीन पटक विश्वासको मत लिइसके ।
२८ असारमा प्रचण्डले चौथो पटक विश्वासको मत माग्दा नपाए राष्ट्रपतिले धारा ७६ (२) अनुसार नै दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको आह्वान गर्नुपर्ने कांग्रेस र एमालेको भनाइ छ ।
तर माओवादी नेताहरुले भने कांग्रेसले चाह्यो भने धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताको हैसियतमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्ने तर्क गरेका छन् ।
त्यही बेला शुक्रबार कांग्रेस नेता शेखर कोइरालाले सार्वजनिक रुपमै नयाँ सरकार गठन प्रक्रिया ७६(३) मा जान सक्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा संशय देखिएको छ ।
तर माओवादी नेताहरुको लबिङ, कांग्रेसका नेताहरुको सार्वजनिक अभिव्यक्तिले राष्ट्रपतिले ७६(३) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने त होइन भन्ने आशंका एमाले पङ्तिमा देखिन थालेको छ ।