काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभई गतिशील नेता रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू गतिशील नेता भएको दाबी गरेका छन् ।
नेकपा एसको दस्तावेजमा आफूलाई अस्थिर नेताको आरोप लगाएको भन्दै त्यसको खण्डन गरेका छन् ।
उनले भने, ‘यहाँहरूले दस्तावेजमा हामीलाई नजिकको पार्टी भनेर पनि भन्नुभएको छ । साथसाथै अस्थिर पनि भन्नुभएको छ । त्यो भन्ने अधिकारमाथि प्रश्न उठाउन चाहन्नँ । तर यत्ति त भन्छु । प्रचण्ड अस्थिर नभएको भए जनयुद्धबाट शान्ति सम्झौता पनि हुँदैनथ्यो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म हामी पुग्ने थिएनौँ ।ु
उनले थपे, ‘अर्को कोही छ ? गतिशीलता भनेको के हो ? किलोजस्तो एक ठाउँमा अडिएर र पोखरीजस्तो जमेर बस्ने मार्क्सवाद हो कि गडगडाउँदो नदीजस्तो हुर्रिने मार्क्सवाद हो ।’
उनले समारोहमा माओवादी पार्टीका सहयात्री विप्लव पनि रहेको भन्दै अगाडि भने, ‘एक ठाउँमा बस्ने भन्ने हुँदैन हाम्रो । हामी दौडिरहेका हुन्छौँ । नेपाली समाज अगाडि बढ्यो यो गतिशीलता हो । युद्धबाट शान्तिहुँदै लोकतान्त्रिक गणतन्त्रमा देश आयो । यो अस्थिरता होइन । गतिशीलता हो ।’
प्रचण्डले गतिशीलताको अर्थ नबुझेर नेकपा एस जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्तासमेत व्यक्त गरे । उनले भने, ‘गतिशीलताको अर्थ नबुझेर तपाईंहरू जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्तासमेत व्यक्त गर्छु । ठीक छ, तपाईंहरूको महाधिवेशन हो डिभेट गर्नुहोला । निर्णय गर्ने अधिकार तपाईंहरूकै हो ।’
प्रचण्डले अहिले पनि आफूले राष्ट्रिय सहमतिको पक्षपोषण गर्ने बताए । उपलब्धिको रक्षाको निम्ति पनि एक ठाउँमा उभिन जरुरी रहेको उनले बताए । नेपालमा केही छैन र नेताहरू र पार्टीहरू सबै खत्तम छन् भन्ने प्रतिगमनकारी भाष्य चिर्न जरुरी रहेको प्रचण्डले बताए ।
उनले भ्रष्टाचारका विरुद्ध पहलकदमी बढाइरहेको बताउँदै भ्रष्टहरू गिरफ्तार हुने र मुद्दा चल्ने क्रम चलिरहेको बताए । भ्रष्टाचारविरुद्धको अभियान निस्तेज पार्ने प्रयास भइरहेको पनि प्रचण्डले बताए ।