महाधिवेशनमा एमाले अध्यक्ष ओली नआएपछि माधवले भने : तीन वर्षको घाउ आलै होला

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि अध्यक्ष माधव नेपालले तीन वर्षको घाउ आलै भएकाले सहभागी नभएको टिप्पणी गरेका छन् ।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने, ‘तपाईंहरूलाई जिज्ञासा होला, एमालेबाट कोही किन आएन भन्ने । मैले दशौँपटक फोन गरेको छुँ । पीएहरूलाई पनि फोन गरेँ । फोन नलागेपछि एसएमएस पनि डिटेलमै पठाएँ । तर, तीन वर्षको आलै घाउ भएर होला आउनु भएन ।’

अध्यक्ष नेपालले यस्ता विषयमा घृणा गर्नुपर्ने केही नभएको बताएका छन् । उनले राजनीतिमा यस्ता विषय पचाउनुपर्ने समेत बताए । तर यस्तो भइरहे पनि यात्रा अगाडि बढिरहने उनको भनाइ छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा विद्रोहको औचित्य संविधानलाई समाप्त पार्न खोज्दा त्यसलाई विफल पारेपछि पुष्टि भएको बताएका छन् । आइतबार पार्टीको १० औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी निर्माण गरेर कार्यकर्ताको रक्षा गरेको बताए ।

त्यतिबेला कार्यकर्ताको रक्षा नगरेको भए निराश हुने र सबै समाप्त हुने बताए । ‘तपाईं हामीले या त राजनीतबाट पलायन हुनुपर्ने थियो या त आत्मसमर्पण गरेर बस्नुपर्ने थियो । हामीले त्यो बाटो रोजेनौं । बिद्रोहको औचित्य क्षण क्षणमा भएको छ अहिले पनि खतरा छ,’ उनले भने ।

अध्यक्ष नेपालले फेरि पनि संसद विघटन गरिदिन सक्ने भन्दै ख्याल राख्न मञ्चमै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे । कार्यक्रममा अतिथि बनेर पुगेका प्रधानमन्त्रीतिर हेर्दै उनले भने, ‘प्रधानमन्त्री ज्यु सुनिन्छ, कतिपयले हिजो विघटन गरेको पनि ठीक गरेको थियो भनेको सुनिन्छ । हिजो ठीक थियो भन्नेले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस् ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि आफूले गरेको संसद विघटन ठीक थियो भनिरहेका छन् । अध्यक्ष नेपालले ओलीको नाम नलिई यही विषयमा कटाक्ष गरेका हुन् ।

कार्यकर्तालाई आत्तिन आवश्यक नरहेको भन्दै ढाडस दिएका थिए ।

सम्बन्धित समाचार