समाजवादको आधार तयार पार्न समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएको बताएका छन् ।

शनिबार दिउँसो सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले काठमाडौँमा आयोजना गरेको शुभारम्भ सांस्कृतिक साँझ २०८१ मा संक्षिप्त मन्तव्य राख्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशिल समुदायले योगदान गर्नुपर्ने बताए ।

उनले अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने पनि बताए ।

उनले भने, ‘नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त भएको संविधानले समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरेको छ । तसर्थ समाजवादको आधार तयार पार्नका लागि सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभुत शर्त हो । यसका निम्ति समाजको संस्कृति निर्माणका पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशिल समुदायले योगदान गर्न सक्नुपर्दछ ।’

प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक संस्थानको आवश्यकतालाई मध्यनजर गरी सरकारले अहिलेको नीति, कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचार