प्रधानमन्त्रीले विश्वासको मत लिने दिनका लागि माओवादीले सांसदहरूका लागि लगायो ह्वीप

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने दिन अनिवार्य संसदमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप लगाएको हो ।

यस्तै राष्ट्रियसभा अध्यक्षको चुनावका दिनका लागि पनि ह्वीप जारी गरिएको छ । माओवादी संसदीय दलको शनिबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो । यही २९ फागुनमा राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीले उम्मेदवार बनाउँदैछ । तर, माओवादीले उम्मेदवार भने टुंगो लगाउन सकेको छैन । आइतबारसम्म उम्मेदवार तय गरिने माओवादीले जनाएको छ । हालका उपाध्यक्ष उर्मिला अर्याल, सांसद झक्कु सुवेदी र नारायण दाहाल अध्यक्षका आकांक्षी छन् ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा कहिले विश्वासको मतको प्रस्ताव राख्नछन् भन्ने यकिन भने भइसकेको छैन । कांग्रेसले २ फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले चैत २४ भित्र प्रधानमन्त्रीले विश्वास लिइसक्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार