पार्टीले गलत निर्णय गर्‍यो, यो सरकार टिक्नेवाला छैन : मेटमणि चौधरी

काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारमा सहभागी हुने पार्टीको निर्णय गलत भएको बताएका छन्।

आफूहरूलाई अपमान गरिएको र अस्तित्व स्विकार नगरिएकाले अहिलेको सरकारमा जानु नै गलत भएको उनको भनाई छ।

‘अहिले दुई वटा मन्त्रालय लिएर दौडिहाल्नुपर्ने आवश्यकता थिएन। हामीले नेताहरूलाई यो काम गर्दै नगर्नुस् भनेका थियौं तर उहाँहरूले गलत निर्णय गर्नुभयो।’ सँग कुराकानी गर्दै चौधरीले भने, ‘राजनीति भनेको सम्मानका लागि गर्ने हो। जहाँ सम्मान छैन त्यहाँ दौडिन आवश्यक छैन। प्रचण्डले जता भन्यो उतै हुर्र–हुर्र कुद्ने कुरा बेठिक हो।’

गत वर्ष पुस १० मा गठबन्धन परिवर्तन गर्दाजस्तै यसपटक पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कुनै जानकारी नदिएको उनको दाबी छ।

‘केपी ओली र प्रचण्डबीच ६ महिनादेखि के-के पाक्यो माधव नेपाललाई केही भनिएन। योभन्दा अगाडि गठबन्धन तोड्दा पनि कुनै जानकारी गराएनन्।’ उनले भने, ‘सरकार टिकाइदिन सधैँभरि टेकेसो मात्रै बन्ने कुरा राम्रो होइन। उहाँ काम गर्ने केही होइन, पाँचै वर्ष प्रधानमन्त्रीमा टाँसिइरहन यो गेम खेलिरहनुभएको छ। अनि उहाँकै पछिपछि दौडिरहनु पर्ने गलत कुरा हो।’

उनले यो सरकारको दिनगन्ती सुरू भइसकेको भन्दै नटिक्ने दाबी पनि गरे। प्रचण्डले धोका दिएका मानिसहरू बदला लिन लाइन लाग्ने अवस्था भएको भन्दै चौधरीले उनलाई सरकार चलाउन सहज नभएको बताए।

‘जसपाले सहमति गरे पनि सरकारमा गइसकेको छैन। गृहमन्त्री रवि लामिछानेले धेरै चिजको जवाफ दिनुपर्ने छ। विभिन्न आरोपहरू उहाँमाथि लागेको छ। केपी ओलीले प्रचण्डलाई जसरी पनि बदला लिनु छ। त्यो कुरा एमालेले सरकारमा पठाएका मन्त्रीहरूको अनुहार हेर्दा पनि पुष्टि हुन्छ। प्रचण्डले यति धेरै मान्छेलाई धोका दिइसकेका छन् कि सबै बदला लिन ढुकेर बसेकै छन्।’ चौधरीले थपे, ‘अनि गलत नियतका साथ यस्तो मनोविज्ञानमा बनेको सरकार कसरी टिक्छ? न टेक्ने धरातल छ न समाउने हाँगो, अनि टिक्छ त सरकार ! सँधै प्रचण्डका लागि दुनियाँले शति गइराख्ने हुन्छ र? हुँदैन। अर्को कुरा गठबन्धन तोड्दै हिँड्ने प्रचण्डको अस्थिर चरित्रका कारण पनि यो सरकार टिक्दैन।’

चौधरीले राजनीतिक अस्थिरता पैदा गराउँदा नेता र दलहरूप्रति जनताको अविश्वास बढ्दै गएको टिप्पणी गरे । अब आउने निर्वाचनमा के भनेर जनतामा जाने भन्ने प्रश्न अहम् बनेको उनको भनाइ छ। अहिले कुनै व्यक्ति वा पार्टी भन्दा पनि सिंगो व्यवस्थाप्रति घात भइरहेको भन्दै उनले घृणित राजनीतिक संस्कारले कहीँ नपुगिने उल्लेख गरे।

सम्बन्धित समाचार