काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरूको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।
बिहीवार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन्। उनले जनयुद्धताका बनाइएका जाली र झूटा तमसुक च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित रकमसम्मको ऋण मिनाहा घोषणा गर्न आग्रह गरे। उनले लिखित तमसुक खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे।
उनले नेपालका बैंकमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई बाँड्न आँट गर्न आग्रह गरे।
उनले मिटरब्याज पीडितहरूको विषयमा बनेका थुप्रै आयोगको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरे।
भट्टराईले भने, ‘कमरेड प्रचण्डलाई आग्रह गर्दछु। हामीले जनयुद्धताका जाली र झूटा तमसुक खोसेर च्यातेको, आगो लगाएको हो कि होइन? अहिले आगो लगाउनुस् र च्यात्नुस् भन्दिनँ तर अहिले निश्चितसम्मको ऋण मिनाहा तुरुन्तै घोषणा गर्न सक्नुहुन्छ। हामीसँग पैसा नभएको होइन। ६० खर्ब बैंकहरूमा छ। ६० खर्बबाट एक खर्ब रुपैयाँ यी गरिब किसानलाई किन बाँड्न सक्नुहुन्न। त्यति गर्नुहोस्।’
पूर्वप्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागमा आफ्नो पार्टी नेपाल समाजवादीको पूर्ण समर्थन रहेको बताए।