एमाले केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत, नौ समूहमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा विभिन्न कार्ययोजनाहरू प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पेस गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई हल गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने विषयमा तथा महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा कार्ययोजना पेस गरेका छन् ।

बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्न केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको जानकारी दिए ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको उनले बताए । उनले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए ।

सम्बन्धित समाचार