कर्नालीमा ह्वाइनी मान्ठ

जुम्ला जर्नल

‘तपाईंको सरुवा भयो हो ?’ उताबाट एक शुभचिन्तकको फोन आएपछि मैले अनभिज्ञता प्रकट गरेँ ।
फेरि उनैले थपे, ‘सञ्चार माध्यममा पूरै समाचार आइसक्यो ।’

मन्त्रालयको पत्र प्राप्त गरेकी पनि छैन। नबुझी के बोल्नु ! विश्वस्त हुन कार्यालयको इमेल खोल्ने प्रयास गरँे तर खुलेन। मोबाइलबाट पनि खुल्छ कि भनेर पुनः प्रयास गरेँ, डाटा पनि चलेन। जुम्लामा नेटवर्क र इन्टरनेट त पटकपटक अवरुद्ध भइरहेकै हुन्छन्। केही समयपछि आधिकारिक जानकारी प्राप्त गरेँ। इमेलमा पत्र आइसकेको रहेछ ।
‘तपाईंलाई निजामती सेवा ऐनको दफा १८ (क) (३) बमोजिम जुम्लाबाट सरुवा गरिएको छ’ भन्ने बेहोरा पढेपछि भोलिपल्टै नयाँ जिम्मेवारीका लागि हिँड्ने योजना बनाएँ ।

कोरोना संक्रमणको जोखिम कम गर्न जिल्लामा क्वारेन्टिन, परीक्षण, जिल्ला भित्रिने र बाहिर जानेको सवारी पास, शान्ति सुरक्षाको व्यवस्था लगायतका तयारीमा हामी व्यस्त थियौँ। बाँकेको नेपालगन्जमा एकैपटक ४७ जनालाई कोरोना पोजेटिभ देखिएपछि ५ डिग्रीभन्दा कम तापक्रम रहेको जुम्ला खलंगाको माहोल तातेको थियो। वडावडामा छरिएर रहेका क्वारेन्टिनलाई अस्पताल नजिक रहेका सदरमुकामका पालिकामा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा रहने गरी व्यवस्थापन गर्न जिल्लास्तरीय एकीकृत क्वारेन्टिन बनाएका थियौँ। भारत तथा संक्रमण देखिएको जिल्लाबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनमा राखी परीक्षण गरेर मात्र घर पठाएकाले जुम्लामा कोभिड पोजेटिभ जेठको दोस्रो हप्तासम्म शून्य थियो ।

डेढ वर्षभन्दा लामो समयसम्म बसेको जिल्ला र जिल्लावासीको मायाले होला, सरुवा भइसक्दा पनि सुरु गरेका काम असरल्ल छोड्न मनले मान्दै मानेन। त्यसैले म दिनभरि अफिसको काममै व्यस्त भएँ।

कोठामा पुग्दा रातको १० बजिसकेको थियो। किताब, कपडा, झोला र सुटकेस छरपस्ट कोठामा छरिएका थिए। कहाँबाट प्याक गर्न सुरु गर्ने होला, आफैँ बिलखबन्दमा परँे। यत्तिकैमा सशस्त्रका गणपति गगन श्रेष्ठको फोन आयो, ‘भारतबाट नेपालगन्ज, सुर्खेत हुँदै गाउँ फर्किंदै गरेका एक बस व्यक्तिहरूलाई राख्न तयार गरिएको क्वारेन्टिनमा गाडी लैजानै नदिन स्काभेटर लगेर बाटो खनी स्थानीयवासीले अवरोध गरेका छन्। हुलदंगा भइरहेको छ ।’ विदेशमा रहँदा गाउँ, वडा, पालिका, जिल्ला त के नेपालको नाम सुन्दा नै प्रिय लागेर मन पुलकित हुन्छ। परदेशको अत्यास स्वदेशको नामले मात्र पनि शान्त गर्छ। कोरोनाको डरले भौतारिँदै सीमा, नाका छिचोल्दै विपत्तिमा मातृभूमि खोज्दै आएका आफ्नै दाजुभाइ र दिदीबहिनीलाई ढाडस दिई क्वारेन्टिनमा राख्न सहयोग गर्नुको साटो यो वडा, त्यो वडा, यी मेरा, ती तिम्रा भनी कित्ता काट गर्ने गाउँले जमात देख्दा दिक्क लाग्यो ।

भोलि सबेरै निस्कनु छ। जबर्जस्ती किताब र कपडा प्याक गर्न लागँे। ७५ वर्षमा पहिलो पटक नागरिकता लिँदा थर्र हात कमाउँदै खुसीले हाँस्दा मुजा परेको टुथकली बस्नेतजस्ता गाउँ जाँदा र अफिसमा भेटेका पात्रहरूका अनुहार आँखावरिपरि घुमिरहे। हजुरबुवा हजुरआमा सहितको संयुक्त परिवारमा हुर्किएकी ‘म’ एक्लै बस्न डराउँथेँ। यही कोठा हो जहाँ म जिम्मेवारीलाई कर्म ठानी परिवारविहीन एक्लै, नितान्त एक्लै बसेँ। दिदी, भाइ, बहिनी र साथीहरूसँग रमाउने चञ्चल म मौन शान्त र संयमित भई तीज, दसैँ, तिहार लगायतका चाडबाड कार्यस्थलमै मनाएँ।

जुम्लामा सीडीओका रूपमा रहँदा-बस्दाका अनुभव र अनुभूतिले मात्र होइन, अन्य थुप्रै (राजनीतिक, सामाजिक, लैंगिक, शैक्षिक, सांस्कृतिक आदि) कारणले यो संस्मरण-दैनिकी-यात्रा पठनीय छ।

त्यो कोठा, मेरो घर हो। मेरो परिवार हो। मेरो खुसी हो। मेरो आनन्द हो, जहाँ म सयौँ जिम्मेवारीले थिचिँदा पनि स्वतन्त्र महसुस गर्थें। म दिल फुकाएर हाँस्न सक्थेँ। दिक्क लाग्दा चिच्याएर रुन सक्थेँ। मन लागे धक फुकाएर बात मार्न सक्थँे। पुनः कोठा नियालेर हेरेँ, सुत्ने पलङ, किताब राख्ने टेबल, झ्यालका पर्दा, भित्तामा रही समयको सूचना दिने घडीसहित मलाई मन पर्ने कलरको रङ लगाएको कोठा उज्यालो देखिन्थ्यो। त्यही वस्तु, चिज र सामग्रीमा मन नै डुबेपछि निर्जीव वस्तुसँग पनि गहिरो सामीप्य र मनले अपनत्व महसुस गर्दो रहेछ। रात छिप्पिँदै छ। मनमा जति तानाबाना आए पनि सामान मिलाउँदै गएँ। मन त गह्रौँ थियो नै, बिस्तारै ब्याग पनि गह्रौँ हुँदै गयो। भोलि बिहान जिल्ला सुरक्षा समितिको बैठक र जिल्लाका महानुभावसँग भेटघाटको समय मिलाइएको छ। ८ः३० बजे जिल्ला र जिम्मेवारी सबै छाड्नुपर्ने सम्झँदै बिछ्यौनामा ढल्किएँ ।

शुभ यात्रा 

सिन्धुपाल्चोकबाट जुम्ला सरुवा भई जुम्लाका लागि म २०७५ फागुन १५ गतेको बिहान ८ बजे काठमाडौँको विमानस्थलमा पुगेकी थिएँ। ८ः३० मा काठमाडौँबाट नेपालगन्जका लागि हवाई यात्रा थियो। काठमाडौंको आन्तरिक विमानस्थलमा भेट भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग एकछिन कुरा भयो। उहाँ सार्वजनिक लेखा समितिमा र म राष्ट्रिय योजना आयोगमा रहँदा निर्वाचन क्षेत्र विकास कार्यक्रम अनुगमन गरी प्रतिवेदन लेखनको क्रममा परिचय भएको थियो।
‘कहाँ जाँदै हुनुहुन्छ ?’

मैले भनेँ, ‘जुम्ला सरुवा भो, उता जान लागेको ।’
‘अहो ! टाढा जना लाग्नुभएछ। शुभयात्रा’, उहाँको वाक्य थियो ।
विमानस्थलको यात्रु प्रस्थान कक्षतर्फ लागेँ। प्लेन निर्धारित समयमै उड्यो। म नेपालगन्ज पुगेँ। जुम्लाको उडानका लागि केही क्षण प्रतीक्षामा बस्दा पनि मौसम र भारी हिमपातका कारण उडान रद्द भएपछि म फर्किएँ, नेपालगन्जतर्फ बास बस्न। नेपालगन्ज कोठामा पुग्दा रवीन्द्र अधिकारीसहित अन्य व्यक्ति सवार हेलिकप्टर सम्पर्कविच्छेद भएको समाचार आइरहेको रहेछ। केही क्षणमै सामाजिक सञ्जालमा पनि त्यही समाचारलाई आधार बनाउँदै भगवान्सँग हेलीसहितका सवार व्यक्ति सकुशल फेला परून् भनी प्रार्थना गरेको देखियो।

झल्झली बिहान एअरपोर्टमा गरेको संवाद र ‘शुभयात्रा’ शब्द याद आयो। केही समयमै अर्को ब्रेकिङ न्युज आयो- मन्त्रीसहितको हेली दुर्घटना र त्यसमा सवार सबैजना…। उफ् !
हामी आफ्नै जिन्दगीको यात्राका लागि समय र मितिको टुंगो लगाउन सक्दैनौँ। शुभ यात्रा भनिरहेका हुन्छौँ। यो समाचार सत्य नहोस् भन्ने कामना गरेँ तर…।

अवतरण जुम्ला 

जुम्ला एअरपोर्टमा थुप्रिएको हिउँ पन्छाएपछि नेपालगन्जबाट प्लेन उड्यो। जुम्ला मेरा लागि पहिलो यात्रा थियो। मानिसहरूले जुम्लाबारे जे जे भने ती कुरा मात्र मेरो मनमा थियो। कुनै छुट्टै चित्र थिएन। अखबारमा पढेको र परिचित मानिसले भनेका कुराबाहेक अरू जानकारी पनि थिएन। अग्लो हिल लगाउन मन पराउने मलाई साथीहरूले चिसो हुन्छ त्यहाँ, बाक्लो जुत्ताबाहेक केही पनि लगाउन सकिँदैन भनेका थिए। चिसोबाट आफूलाई जोगाउने खालको जुत्ता लिएर जानु भनेकाले मैले पनि त्यो दिन सारीमा गोलस्टर जुत्ता लगाएकी थिएँ। उडानका क्रममा प्लेन भित्रैबाट देखिने सेता हिमालहरू र लेक छिचोल्दै सुन्दर सदरमुकाम खलंगामा हवाईजहाज अवतरण गर्‍यो।

नयाँ महिला सीडीओ देख्दा मानिसमा कौतूहल र उत्सुकतासँगै शंका पनि देखिन्थ्यो। प्रशासन अड्डामा ‘ह्वाइनी माण्ठ’ आकी छन् अब के हुने हो ? जिल्लाको शान्तिसुरक्षा कस्तो हुने हो। जिल्लामा कसरी काम गर्ने हुन् भन्दै केही हप्तासम्म चिया चौतारोमा गफको विषय चल्यो रे। सीडीओको रूपमा जिम्मेवारीको पद बहाली गरेपछि चुनौतीको चाङ मेरासामु चुलिँदै गए पनि त्यसलाई अवसरमा परिणत गर्न म उत्साहित थिएँ।

सीडीओ खोइ ?

कार्यस्थलमा काम गर्दै जाँदा कतिपय कुरा त जीवनभर नमेटिने बनी हृदयमै बसे। जुम्ला गएको चार महिना भएको थियो। प्रहरी नायब उपरीक्षक सीताराम रिजाल र म सँगै थियौँ। कार्यकक्षमा काम गर्दै थिएँ। तातोपानी गापाबाट छोराको नागरिकता बनाउन एक जना महिला आउनुभयो। उहाँलाई सीडीओ भेट्नुपर्ने भएकाले खोज्न थाल्नुभएछ। कार्यालयका कर्मचारीले माथि भन्दै कार्यकक्ष देखाउनु भएछ। कार्यकक्षमा बाहिरबाटै नियाल्दा पुरुष अनुहार खोजिरहँदा सीडीओ नदेखेर फर्कनुभएछ।

तीनपटक आउँदा पनि नभेटेर भित्र पसी मेरो कुर्ची नजिक आएर कार्यालयका पुरुष कर्मचारी देखाउँदै स्पर्श गर्दै भन्नुभयो, ‘उनलाई भनिदिनुस् न ।’
मैले भनेँ, ‘सीडीओ त म नै हुँ ।’ उहाँको अनुहार परिवर्तन भो। ‘आबुई तमी सीडीओ’, कुर्चीमै मलाई झप्प अँगाल्नुभो। म बसेको धर्ती ढोग्दै भन्नुभो, अहो ‘ह्वाइनी माण्ठ’ पनि सीडीओ हुँदा रहेछन्। तिम्लाई जन्माउने बुवाआमा भाग्यमानी। म पनि ‘ह्वाइनी माण्ठ’ झन् भाग्यमानी। अब मेरा सबै काम हुन्या है तमी भएपछि। ‘उहाँ’ खुसी भएको देखेर म झन् खुसी भएँ ।

छाउपडी र महायज्ञ

महिलामा महिनावारी हुनु एक नियमित र प्राकृतिक प्रक्रिया हो। २०६३ सालमै तत्कालीन मन्त्रिपरिषद्को निर्णयले मासिक स्राव भएका महिलालाई गोठमा पठाउने कार्यलाई कुरीति भनी घोषणा गरेको छ। मुलुकी फौजदारी कार्यविधि संहिता दफा १६८ को उपदफा ४ ले महिला रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहारको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था गरेको छ। राज्यको कानुनी, नीतिगत र संरचनागत व्यवस्था हुँदाहुँदै पनि छुईलगायत कुरीति र कुसंस्कारबाट समाज मुक्त हुन सकेको छैन।

अन्धविश्वास र धर्मको नाममा कुप्रचार गरी महिलामाथि विभेद गरिँदा कोठामा निसास्सिएर मृत्यु हुने, केही सर्पले टोकेर मर्ने, केही बलात्कारको सिकार भई समाजमा तिरस्कृत हुनुपर्ने, आमासँगै छुई बार्न बाध्य पारिएका बालबालिका चिसोका कारण निमोनिया भई अकालमा मृत्यु हुने गरेको छ। छुई मेरा लागि नौलो विषय थिएन। आमा, फुपू र भाउजूका भर्‍याङमुनि छुट्टै बिस्तारा लगाएर सुतेको र स्कुल पढ्दा सँगै पढ्ने मेरा सहपाठी साथीहरू प्रत्येक महिना चारपाँच दिन स्कुलबाट हराउँदै गएको मेरो अनुभव स्मृतिमा ताजै छ। प्राथमिक विद्यालयमा प्रथम, दोस्रो हुने साथीहरू ९ र १० क्लास पढ्दा त टप टेनबाट हराएको देख्ने म साक्षी नै थिएँ।

सुरु भो छाउपडीलगायत कुरीति, कुसंस्कारविरुद्धको महाअभियान। छुईको पक्षपोषणका रूपमा रहेका भनेर आरोप लाग्ने गरेका पुजारी तथा धामीझाँक्री र डाग्रीहरू नै उन्मूलनका सद्भावना दूत बनी धामीझाँक्रीबाटै सकारात्मक सन्देश प्रवाह हुन थाल्यो। महाशिवारात्रिको दिन भारी हिमपातको अवस्थामा पनि धामी, झाँक्री, पूजारी, सञ्चारकर्मी र अन्य महानुभावको सहभागितामा छुई कुरीति कुसंस्कारविरुद्ध सफलतापूर्वक महायज्ञ सम्पन्न भयो र यसले आममहिलामा परेको भ्रम हटाउन सहयोग पुग्यो।

छाउपडीविरुद्धको अभियानमा सक्रिय भइरहँदा देखावटी रूपमा महिला अधिकारका सवाल उठाउने केही अगुवा भनिएका व्यक्तिहरू र त्यसको पीडा महसुस गर्न नसक्नेले भ्रम छर्दै गर्ने विरोधका आवाज त्यस बेला चियाचौतारीदेखि सदनसम्म गुञ्जिएका थिए। कतिपयले त, ‘छाउपडी सीडीओ’ भनेर नामै रोशन गर्नसमेत भ्याए। तर म महिलामा परेको सकारात्मक प्रभाव देखेर नतमस्तक थिएँ ।

महिला दिदीबहिनीले ‘हाम्मा पाला यैथो काँ अहिले सरकारै घरघर आर छुई नमान भुन्न लाग्यो’ भनी खुसी व्यक्त गर्न थाल्नुभो।
‘माघ मासा रात भुन्नु पन काँ, पाइनो काल आयापछि’ अर्थात् माघको रात भन्न कहाँ पाइयो र आउने काल आएपछि। यसरी कालसँगै तुलना गरेका छुई उल्मूलन गर्न आयोजित महायज्ञले जनमानसमा यसको धारणा परिवर्तन गर्न ठूलो भूमिका खेल्यो।

युवती नभई बुढ्यौली

मुलुकी देवानी संहितामा २० वर्षभन्दा कम उमेरका पुरुष र महिलाबीच विवाह गर्न नहुने, विवाह भए त्यस्तो विवाह स्वतः बदर हुने, त्यस्तो विवाह बालविवाह ठहर भई विवाह गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

तर कलिलो उमेरमा आमा बन्न र सन्तानबारे खुलेर निर्णय गर्न केही महिला अझै असमर्थ छन्। कम उमेरमा धेरै बच्चा जन्माउने यन्त्रका रूपमा विकसित हुने महिलाहरू युवती नबनी बुढ्यौलीमा प्रवेश गरिसक्छन्।

‘किशोरीको प्रजनन अंग विकास नभई सानै उमेरमा बच्चा जन्माउँदा कम्मर दुख्ने, धेरै बेरसम्म उभिन नसकिने, सेतो पानी तथा रगतसमेत बग्ने हुँदै पछि पाठेघरको क्यान्सरको समस्या आउँछ। अन्तिम चरणमा आएर मात्र जानकारी भएपछि उपचार गर्दासमेत ज्यान बचाउन कठिन हुन्छ’, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निरेश थापा भन्नुहुन्छ। सानैमा विवाह गर्दा कानुन उल्लंघन मात्र होइन शारीरिक, मानसिक र संवेगात्मक असरको सिकार महिला बनेको महसुस भो ।

राज्यको कानुन प्रभावकारी कार्यान्वयन नभएसम्म विधि बन्नुको कुनै तुक छैन। बालविवाह गर्नेलाई कारबाही गर्छौं भन्दा मलाई भनिन्थ्यो, ‘कतिलाई मुद्दा लगाउन सक्नुहुन्छ ?’ त्यस्ता हेपाहापूर्ण अभिव्यक्तिले मनमा घोच्थ्यो। जागिर र जनताका लागि मेरो नैतिकता दाउमा राख्दिनँ भन्ने मेरो विगतदेखिको दृढ संकल्प थियो। सोहीअनुरूप कार्य गर्‍यौँ र सफल पनि भयाँै। जुम्ला जिल्लामा पहिलो पटक बालविवाह विरुद्धको मुद्दा दर्ता गरेर कानुनको प्रभावकारी कार्यान्वयन भएपछि मात्र मानिसलाई विश्वास भयो र विवाह गराउने पण्डित समेतलाई नगरिकतामा उमेर हेरी विवाह गराउनू भनी सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना दिइयो। कारबाही हुने डरले परिवर्तनमा भूमिका खेल्यो।

लागुऔषध गिरोहको भण्डाफोर

अभिभावकका लागि सन्तान सर्वस्व हुन्। आमाबुवाका लागि छोराछोरी असल बनून्, भविष्यका सहारा बनून्, देशका लागि कर्णधार बनून् भन्ने आशा र भरोसा हुन्छ। तर तिनै युवा दुव्र्यसनमा फसे भने के होला ? युवा नै बिग्रिए समाजको हालत के होला ? यो सञ्जाल तोड्न ठूलो तर गोप्य अप्रेसन सुरु गर्‍यौँ। सुरुमा सेवनकर्तालाई लक्षित समूह बनाइयो। सेवनकर्ताको सूचनाका आधारमा कारोबारीलाई समेत कानुनी दायरामा ल्याउन सफल भयौँ। पटकपटक गरी २३ जनाविरुद्ध मुद्दा दायर भयो। लागुपदार्थ रोकथामका लागि हाम्रो प्रयासलाई सराहना गरेर उत्साह प्रदान गरिँदा ठूलो सन्तोषको अनुभव गरेँ मैले ।

 मध्यरातमा रक्तदान

म निदाइसकेकी थिएँ। अचानक अफिसको फोन बज्दा झस्किएँ ! अनि आँखा बन्द गरेरै फोन उठाएँ ।
‘म्याडम रगत चाहियो ।’

फोन कालीकोटका विशालजंग शाहीको रहेछ। ‘दुई दिनदेखि सुत्केरी हुन भर्ना भएकी रितुको अप्रेसन गर्न रगत आवश्यक पर्‍यो। कोही सुरक्षाकर्मी छन् कि ?’उनको भनाइले निद्रा खुल्यो। लकडाउनको समयमा यो राति को खोजूँ ? समय हेरेको रातको १२ः४८ बजेको रहेछ। गर्भवती महिला, प्रसव व्यथा, कोरोनाको सन्त्रास- सोच्दा नि भाउन्न भयो। अहो ! कुन ग्रुपको रगत हो आवश्यक परेको ? बी पोजटिभ रगत त मसँग नै मिल्छ। रक्तदान गरेको तीन महिना कटिसकेको छ। मध्य राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर तीन तलामाथि रहेको ल्याबमा रगत दिएँ। बच्चा सकुशल जन्मियोस् भन्ने शुभेच्छा राखेँ। उपचारको सहजीकरण गरी म निस्केँ तर रातभरि गर्भवतीको अवस्था कस्तो रह्यो भन्ने लागिरह्यो। बिहान अप्रेसन गरी सकुशल बच्चा जन्मिएको र आमा र बच्चा स्वस्थ रहेको खवर पाएपछि वर्णन गर्न नसकिने खुसी लाग्यो मलाई ।

मनभरि यस्तै भाव र जुम्लासँग जोडिएका भावनाहरू अटेसमटेस गर्दै थिए। कसैले ढोकामा ढकढक गरेको आवाज सुनेँ। यसो घडी हेरेको त बिहानको ६ बजिसकेछ। जुम्लाबाट बिदाइ हुने दिन सुरु भइसकेको रहेछ।

 जुम्लाबाट बिदाइ    

बिदाइका लागि सखारै धेरै मान्छे जम्मा भइसक्नुभएको रहेछ। लकडाउनको समयमा भेटघाट गर्नु हुँदैन भन्ने म आफैँ, आफूलाई भेट्न आएका व्यक्तिहरूप्रति कठोर बन्न सकिनँ। सबैलाई भेटेँ। माला, खादा, अबिर, मार्सी चामल, ओक्खर, सिमी, कम्बल र फूलका थुंगा कोसेलीसहित भेट्ने व्यक्तिहरूले गरेको सम्मानले आँखा रसाए। सबैलाई बिदाइको हात हल्लाउनुबाहेक केही बोल्नै सकिनँ।

कार्यालयका कर्मचारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी मिलन केन्द्र परिवार, युवा, नागरिक लगायतका पदाधिकारीसँग फेरि भेटांैला भनी कार्यालयबाट बिदा भएर देउता भेट्न म चन्दननाथ मन्दिरमा पुगेँ।

मन्दिरमा नित्य पूजा सकिएको रहेछ। केही भक्तजन र ज्येष्ठ नागरिक मन्दिर वरिपरि बनाइएका ससाना कुटीजस्ता कोठा कोठामा बस्नुभएको देखिन्थ्यो। दर्शन गरेँ ‘भगवान्’को तपाईं जुम्ला आएकै दिन, ‘निभेको ज्योति दैलेखबाट ल्याएर प्रज्ज्वलन गरिएको हो’ भन्दै मुख्य गुरुले भन्नुभो। मन्दिरभित्र रहेका मूर्तिहरूमध्ये ठूलो चाँदीको दत्तात्रयको मूर्ति देखाउँदै थप्नुभयो, ‘यही मन्दिरबाटै चोरी भएर तीन वर्षसम्म फेला नपरेको अघिल्लो माघमै भगवान् आफ्नै घर लेराइदिनुभो ।’ भगवान्प्रति मेरो आस्था तर भगवान्लाई पूजा गर्ने पुजारीले मप्रति गरेको विश्वास देखेर बेजोडको सामीप्य महसुस भयो। मूर्ति भेट्टाएर जिल्ला प्रशासन कार्यालयमा लेराई पत्रकार सम्मेलन गरी नागरिकमाझ सार्वजनिक गर्ने क्रममा स्वस्फूर्त रूपमा जम्मा भएका सयाँै नरनारीले तीन वर्षअगाडि हराएको भगवान् देख्दा खुसीले प्रशासनको जय ! सीडीओको जय ! सुरक्षाकर्मीको जय ! हाम्रो खुसीको जय ! आनन्दको जय, चन्दननाथ बाबाको जय भनी जयजयकार गरी हर्षोल्लास मनाउँदा जुम्ला बजार गुञ्जायमान भएको थियो।

सुरुमा ‘ह्वाइनी माण्ठ अर्थात् स्वास्नी मान्छे’ भनेर गरिएको अविश्वाससहितका शंका प्रेम हुँदै विश्वासमा बदलियो। प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारीका बाँकी रहेका कतिपय काम सदासदाका लागि थाती राखेर म आफ्नो बाटो लागँे।

लकडाउनमै सुरु भो जुम्लादेखि काठमाडौँसम्मको सडक यात्रा। निस्कँदा देखिइन्, सलल बगिरहेकी तिला नदी। हवाई मार्गबाट जुम्ला आउँदा तिला नदी मेरो दायाँ थिइन्, अहिले जुम्ला छाडेर जाँदा बायाँ। नदी तिलाको छ, आफनै लय, आफ्नै सुर अनि आफ्नै ताल। तर आज मलाई अविरल रूपमा बग्ने तिला नदी बिदाइ गर्न रोकिएजस्तै लाग्यो। जिल्लावासीको सुरक्षाका लागि चौबीसै घण्टा खटिने सुरक्षाकर्मी हुनुहुन्थ्यो। बाटोमा रहेका सबैलाई मैले शुभकामनासहित हात हल्लाएँ। सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा, जिल्ला प्रहरी प्रमुख लालबहादुर धामी, ३३ नम्बर गणका गणपति गगन श्रेष्ठसहितको टिम मसँगै जुम्लाको अन्तिम बिन्दु र कालीकोटको प्रवेशद्वार नाग्मासम्म आउनुभयो। जुम्लाको अन्तिम बिन्दु नाग्ममा अन्य कर्मचारी साथी पनि बिदाइमा बस्नुभएको रहेछ। बाटोमै बसी घण्टौँ कुरी बिदाइ गर्ने कर्मचारी मित्र देख्दा मेरा आखा रसिलो भइसकेका थिए तर सम्हालिएर मुस्कुराएँ ।

कालीकोट प्रवेश गरेपछि गाडी आफ्नै रफ्तारमा गुड्यो। दैलेख, कालीकोट, जुम्ला, मुगुसम्म जाने-आउने गाडी चल्ने रुट भए पनि बाटो शून्य थियो। लकडाउनको समय भएर होला, अत्यावश्यक खाद्य सामग्री बोकेका ठूलाठूला ट्रकबाहेक केही थिएनन्। गाडीभित्र बसी नयाँ गन्तव्यतिर यात्रा अघि बढ्दै गर्दा मेरो मन भने जुम्लातर्फै मोडियो। अगाडि थियो, खाली खाली बाटो।
धन्न बाँचियो 
गाडी गुडिरहेको छ। रातभरको अनिँदोले आँखा टट्टाइरहेका छन्। झप्प निदाउन पाए नि हुन्थ्यो भन्ने लाग्यो। तर म निदाएँ भने सवारी चालक जितेन्द्र पनि निदाउन के बेर ! जितेन्द्र निदाए भने त… कठिन बाटो र मोडहरूमा उनीसँग कुरा गर्दै बसेँ ।

‘हामी सिँजाली, सिँजाबाटै सुरु भयो भाषा नेपाली’ भन्ने बोलको गीत गाडीमा बजिरहेको थियो। अनकन्टार वन, सुनसान बाटो, झमझम वर्षा, झिसमिस अँध्यारोमा अघि बढिरहँदा अचानक गल्र्याम्म आवाज आयो। गाडी आठ रिक्टर स्केलको भूकम्पको झड्काभन्दा जोडले हल्लियो। झटपट गाडीचालक जितेन्द्रले स्टार्ट बन्द गरे। त्यसपछि पो थाहा पाएँ, गाडीमाथि बडेमानको ढुंगा बजारिएको रहेछ। हामी डराउँदै गाडीबाट बाहिर निस्कियौँ। अहो ! गाडीको हुट नै बाटोमा खसेछ। तल हेर्दा डरलाग्दो भीर। ठूलो कर्नाली नदी त एक धर्सो जस्तो देखियो। जितेन्द्रले थरथर काम्दै भने, ‘धन्न बाँचियो ।’

फर्कंदै गर्दा कर्णाली राजमार्गमा म र जितेन्द्रले जे भोगेका थियौँ, मलाई माया गर्ने र सम्मान गर्ने दुःखी होलान् भनेर यो घटना मैले कहिल्यै बाहिर ल्याउने छैन भनी मनमनै प्रण गरेकी थिएँ। तर कोरोना संक्रमणबाट जोगिन भारतबाट फर्किएका व्यक्तिहरूलाई क्वारेन्टिनमा लैजाँदै गर्दा कालीकोटमा ३८ जना चढेको टिप्परसहित, केही नागरिकलाई कर्णाली नदीले निल्यो भन्ने समाचार पढेपछि, मेरो भोगाइ उकुसमुकुस भई प्रस्फुटन हुन खोज्यो। लाग्यो, त्यो भोगाइसहितको भयानक दृश्य अभिव्यक्त गरिनँ भने ती कर्णालीले निलेका मान्छेहरूप्रति अन्याय हुनेछ। त्यो राजमार्ग भई यात्रा गर्ने हजाराँै व्यक्ति र यात्राका क्रममा गन्तव्यमा पुग्न नपाएका अन्य व्यक्तिहरूप्रति पनि अन्याय हुनेछ। किनकि कर्णाली राजमार्ग फगत बाटो मात्र नभएर लाखौँ कर्णालीवासीको जीवनमार्ग हो। त्यही बाटो भएर यात्रा गर्ने हजाराँै पर्यटकको सहारा र दैनिक जीविकोपार्जनका लागि गाँस र कपास ओसारेर जीवन गुजार्नेसँगको सामीप्य पनि हो ।

कर्णाली सुन्दर छ, रारा ताल, से फोक्सुण्डो ताल, खस सभ्यताको उद्गम स्थल सिँजा, सबैभन्दा अग्लो स्थानमा धान फल्ने छुम चौर लगायतका अनुपम स्थान त्यहीँ छन्। थप सुन्दरता महसुस गर्न कर्णाली पुग्नैपर्छ। त्यो बाटोको यात्रा गर्नुपर्छ तर मानिसहरू यात्रा गर्न डराउँछन्। मृत्युमार्गको उपमा पाएको ‘सडक’मा यात्रा गर्दा उल्लासभन्दा अत्यास बढी हुन्छ ।

झाडापखालाले आक्रान्त हुनुअगाडि जाजरकोटमा, २०७२ सालको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा, कोरोना भाइरसको संक्रमणको अवस्थामा जुम्लामा थिएँ र अहिले बर्खाको झमझम पानीमा बालकृष्ण समको ‘तानसेनको झरी’ भन्ने कृति सम्झँदै तानसेनमा छु। यी जिल्लामा विभिन्न पद र फरक फरक जिम्मेवारी वहन गरँे। पदीय भूमिकामा रहँदा मात्र होइन, पछिसम्म पनि काम गरेको जिल्ला र जिल्लावासीको याद आउँदो रहेछ।

सिन्धुपाल्चोक, जाजरकोट, म्याग्दीलगायत देशका धेरै ठाउँमा बाढीपहिरोले पुर्‍याएको क्षतिका नरमाइला समाचार हेर्दै कर्णालीको बाटो सम्झिरहेकी छु। मैले जुम्लाको माटोमा रोपेको बिरुवा हुर्कंदै छ होला। कर्णालीको बाटो राम्रो बनोस्, आधुनिक विकास र मौलिक संस्कृतिको संगम बनोस्, समृद्धिको पाइला अघि बढोस् भन्ने शुभभावना र कर्णाली नदीको कञ्चन पानीजस्तो स्मृति मेरो मनमा बगिरहेको छ, बगिरहनेछ।