काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनविरुद्ध मुद्धा हाल्ने कर्मचारी भरत मरासनीले उमेर हदका कारण अवकास पाएका छन् ।
बिहिबार उनले उमेर हदका कारण अवकास पाएका हुन । अवकास पाएका मरासनीलाई कोषले विदाइ समेत गरेको छ । नेकपा एकीकृत समाजवादीमा आवद्ध कोषका सहसचिव तहका कर्मचारी भरत मरासनीले पुनविरुद्ध मुद्दा हालेका थिए ।
कोष परिषद् बैठकले पुस ४ गते पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । मरासनीले पुनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उदालतले पुनलाई छानविनका लागि भन्दै अन्तिम फैसला नहुँदासम्म काम नगर्न भनेको छ ।
पुनविरुद्ध उजुरी दिने मरासनी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट मानिन्छन् ।
पुनलाई उदालतलले काम गर्न रोक लगाएपछि सहसचिव तहका मरासनी कार्यकारी निर्देशकको आकांक्षी रहेको बताइन्छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्रले गरिरहेका कारण कार्यकारी निर्देशक बन्ने उनको सपना पुरा हुन पाएन ।
कोषको कार्यकारी निर्देशक नियुक्त सम्बन्धमा ऐनको (३) उपनियम (२) जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियम बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएको अवस्थामा परिषद्का अध्यक्षले कोषमा कार्यरत अधिकृत प्रथम श्रेणी र सोभन्दा माथिका कर्मचारीहरुमध्ये वा निजामती सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारीलाई कार्यकारी निर्देशकको रुपमा काम गर्न तोक्न सक्ने व्यवस्था रहेको छ । यही व्यवस्थाका आधारमा मरासनी कार्यकारी निर्देशक बन्न दाैडधुप गरिरहेका थिए भनिन्छ।