जुम्ला : गत सोमबार (१५ माघमा) कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानमा जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँकी ११ वर्षकी बालिका उपचारका लागि पुगिन् । उनको यौनाङ्गबाट रगत बग्ने समस्या थियो । डाक्टरलाई शंका लागेपछि ओपिडीबाट ओसीएमसीमा पठाइयो । सोधपुछका क्रममा दाइ नाता पर्ने (साइलो बुवाको छोरा)ले बलात्कार गरेको थाहा लाग्यो ।
पीडित बालिकाका अनुसार, एक महिना अगाडि बलात्कारमा परेकी थिइन् । उनले दाजु नाता पर्नेबाट बलात्कृत भएको विषय आमा÷बुवालाई भन्ने सोचेकी थिइन् । तर पीडकले धम्क्याएका कारण आँट गरिनन् ।
बलात्कार गर्नेले चक्कु देखाएर ज्यान मार्ने धम्की दिएपछि उनले कसैलाई भनिन् । तर एक महिनासम्म लगातार रगत बगेपछि भाउजुलाई भनेर उपचार गर्न कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठान गएकी थिइन् ।
आफन्तबाट बलात्कृत भएकी उनी हाल परिवारबाट समेत तिरस्कृत भएकी छन् । पीडित बालिका भन्छिन्, ‘बुवाले गाली गर्नु हुन्छ । मैले परिवारको इज्जत फालेँ रे । मरे पनि हुन्छ, घरमा आउनु पर्दैन भन्नुहुन्छ ।’
पीडित बालिकाका बुबा सरकारी कर्मचारी हुन् । जसले संरक्षण तथा रेखदेख गर्नुपर्ने हो, उहीबाट तिरस्कृत भएपछि पीडित थप पीडामा परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार, ११ वर्षीया बालिकालाई बलात्कार गर्ने १५ वर्षीय बालक छन् । ‘दुवै जना नाबालक रहेकाले उनीहरुको परिचय गोप्य राखिएको छ’ उनी भन्छन्, ‘बालक र बालिका दुवै पक्षका अभिभावकबाट असहयोग भएको छ । हामीले अधिकारकर्मीको सहयोगमा अनुसन्धान अगाडि बढाएका छौं ।’