शान्ति सुरक्षा र सुशासन कायममा लाग्छु : प्रजिअ अधिकारी

जुम्ला निवासी लमजुङका  प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले शान्ति सुरक्षा र सुशासन कायम गराउने आफ्नो पहिलो दायित्व रहने बताउनुभएको छ ।
गृह मन्त्रालयबाट सरुवा भएर एकसाता अघि लमजुङको प्रमुख जिल्ला अधिकारी हुन आउनुभएका उहाँले जिल्लाको शान्ति सुरक्षा, सुशासन तथा सेवाप्रवाह आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले मंगलबार आफ्नो कार्यकक्षमा जिल्लाका पत्रकारहरुंग परिचयात्चमक कार्यक्रममा बोल्दै सार्वजनिक सेवा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन आफू कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । विकास निर्माणमा आइपर्ने समस्या समधान गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।

जिल्लामा सरकारी तथा गैह्रसरकारी क्षेत्रहरुसंग समन्वय तथा सहकार्य गर्दै सम्बन्धित सरोकारका विषयमा प्रभावकारी नतिजा दिने उहाँले बताउनु भएको छ । उहाँले जिल्लाको शान्ति सुरक्षालाई अझै राम्रो बनाउने, आफ्नो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सहज, सर्वसुलभ, छिटोछरितो र प्रभावकारी बनाउने, कर्मचारीलाई अझै सेवाग्राहीमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सञ्चारकर्मीहरुसँगको संवादमा उहाँले जिल्लाका समस्या र आवश्यकताको प्राथमिकीकरण गर्दै तिनका समाधानतर्फ नतिजामुखी तरिकाले अघि बढ्नेमा जोड दिनुभयो ।
ऐनमा व्यवस्था भए बमोजिमका सूचनाहरुलाई प्रवाह गरी पारदर्शी बनाउने उहाँको भनाइ छ । जिल्लामा अलपत्र रहेका विकास निर्माणका आयोजनाहरुलाई तत्काल सहकार्य र समन्वय गरी अघि बढाइने उहाँले बताउनुभयो । नियमित बजार अनुगमन र स्वच्छ बजार निर्माणका लागि स्थानीय तहहरुसँग सहकार्य गर्नुका साथै  यातायात सेवालाई व्यवहारिक र थप उपयोगी बनाउन समेत पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका अध्यक्ष परमेश्वर अधिकारी, जिल्लाका अग्रज पत्रकारलगायतको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार