बालिका बलात्कारको आरोपमा किशोर पक्राउ

सल्यान : ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सल्यानमा १५ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्लाको शारदा नगरपालिकाकी ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो।

किशोरले बालिकालाई मोबाइल चलाउन दिन्छु,चुइगम दिन्छु भन्दै ललाई फकाई गरी घरमा लगी गत पुस ७ गते बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पीडित बालिकाका आफन्तले जाहेरी दिएपछि किशोरलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। पक्राउमा परेका किशोरलाई अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको उनको भनाइ छ।

आइतबार नै जिल्ला अदालत सल्यानबाट पाँच दिनको याद थप गरेर घटनाको थप अनुसन्धान गरी रहेको प्रहरीको भनाइ छ।

पछिल्लो समयमा सल्यानमा आफन्तबाटै बलात्कार हुनेको संख्या बढ्दै गएको र चालू आवको पाँच महिनाको अवधिमै १४ जना बलात्कृत र दुईजनामाथि बलात्कार प्रयास भएको डिएसपी कार्कीले बताए।

सम्बन्धित समाचार