कर्णाली बनाउने कुरामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ,

सुर्खेत । नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले कर्णाली बनाउने कुरामा सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध हुन् आवाश्यक रहेको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दे उनले कर्णाली बनाउने यहिँ कै नेताहरु जिम्मेवारी रहेको पनि बताए ।

’कर्णाली बनाउने हामी नै हो, यसको विकासका लागि सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ खड्काले भने । कर्णालीको उन्नति र प्रगतिको कुरामा, विकास पुर्वाधार बनाउने कुरामा राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको पनि उनले बताए । साथै त्यसो गर्न पनि नहुने उनको भनाइ छ । खेलकुदका विषयमा खड्काले भने–’१० औं राष्ट्रिय खेलकुद सम्पन्न गराउन सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ । पुर्वाधार निर्माणमा बजेट अभावका विषयमा केन्द्र सरकार अग्रसर नै छ ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले खेल पूर्वाधारका लागि केन्द्र सरकारसँग आर्थिक सहयोग माग गरिएको बताए । प्रदेश सरकार एक्लैले सबै संरचना बनाउन नसक्ने भएकाले केन्द्र सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले खेल क्षेत्रको विकासका लागि कर्णाली दौडिरहेको बताउँदै आवश्यकताअनुसार पूर्वाधार निर्माण गर्न आर्थिक अभाव रहेको समेत बताए ।

यस्तै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता, एवं पूर्वमन्त्री यामलाल कँडेलले ‘१० औं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार अझै अभाव रहेको बताए । उनले १० राष्ट्रिय खेलकुद कर्णालीका लागि चुनौतिको विषय पनि रहेको बताए ।

सम्बन्धित समाचार