ललितपुरका सिडीओ, प्रहरी प्रमुख र ईपीएस शाखा प्रमुख निलम्बन भइसकेका छैनन् : गृहसचिव

काठमाडौँ : मानवीय क्षति हुने गरी ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखा प्रमुखलाई निलम्बनको तयारी गरेको छ।

गृहसचिव दिनेश भट्टराईले  निलम्बन भइनसकेको तर उक्त विषयमा मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिए। उनका अनुसार निर्णय हुनेवित्तिकै मन्त्रालयबाट सूचना जारी गरिने छ।

मन्त्रालयका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने तयारी छ।

यस्तै त्यसक्षेत्रमा सुरक्षाका लागि ललितपुर परिसरबाट खटिएका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई पनि निलम्बन् गर्ने तयारी छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिले मन्त्रालयमा उक्त विषयमा छलफल जारी रहेको बताए। उनले पनि निलम्बनको अहिलेसम्म निर्णय भइनसकेको बताए।

यसअघि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षामा कमजोरी देखिएको बताउँदै ती अधिकारीहरूलाई निलम्बनका लागि निर्देशन दिएका थिए। विहानकाे एक  कार्यक्रममा प्रधानमन्त्री दाहालले उनीहरूलाई निलम्बन गरिसकिएको पनि बताएका थिए।

शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए।

उक्त घटनामा एक जनालाई गोली लागेको छ भने अर्का व्यक्तिको मृत्युको कारण खुलेको छैन तर प्रत्यक्षदर्शीले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दावी गरेका छन्। त्यसघटनामा प्रहरीसहित ७ जना घाइते भएका छन् भने ७३ जनालाई पक्राउ गरिएकोछ।

 

सम्बन्धित समाचार