पत्रिका प्रकाशनका लागि म्याङलुङ नगरपालिकाले १ लाख सहयोग गर्ने प्रमुख तुम्बाहाङफेको प्रतिवद्वता

तेह्रथुम । प्रभावकारी सुचना र सन्देशमुलक समाचार साथै भाषा, कला, साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले तेह्रथुम मेयङलुङबाट प्रकाशन आरम्भ भएको ‘हाम्रो मुन्धुम’ मासिक पत्रिकालाई नगरपालिकाले १ लाख सहयोग गर्ने भएको छ ।

किरात याक्थुङ चुम्लुङ, तेह्रथुमको सभाहलमा विमोचन गर्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले घोषणा गरेका हुन् । नगर प्रमुख तुम्बाहाम्फेसँगै जिल्ला प्रशासन कार्यालय, तेह्रथुमका निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लिम्बू, म्याङलुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दाहाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका उपाध्यक्ष टंकमाया तिगेला लिम्बुको हस्तबाहुलीबाट पत्रिका विमोचन भएको थियो ।

प्रविधिको युगमा पनि छापा माध्यमबाट सञ्चारमाध्यम प्रकाशन हुन थालेकोमा अतिथि तथा सहभागीहरु उत्साहित भएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा म्याङलुङ नगरपालीकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले तेह्रथुम जिल्लामा पत्रिकाको आवश्यकता भएको बेला यो पत्रिका प्रकाशन हुनु खुशीको कुरा भएको बताए ।

यसअघि केही पत्रीकाहरु जिल्लाबाट प्रकाशन भए पनि निरन्तरता हुन नसकेकोमा दुःखसमेत व्यक्त गरेका थिए । पत्रकारिताले निःस्वार्थ जनभावनाको कदर गर्नुपर्ने साथै निष्पक्ष र सत्य तथ्य समाचारको प्रवाह गर्नुपर्नेमा जोड मेयर तुम्बाहाङफेले गरेका थिए । सबै कुरामा सूचना र सञ्चार भएकोले गर्दा जनतालाई सुसूचित गर्न यो पत्रिका लागि परोस् भन्दै नगरपालिकाको तर्फबाट यस पत्रिकाको प्रकाशनका लागि रु १ लाख रकम विनियोजन गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

विशेष अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी विक्रम सम्बाहाङफे लिम्बुले डिजिटल मिडियाको भन्दा छापा मिडियाको महत्त्व धेरै रहेको बताएका थिए । उनले सजिलो र सरल मिडिया डिजिटल भए पनि अध्ययनको स्रोतका लागि छापा मिडियाको आवश्यकता त्यतिकै महत्त्वपूर्ण रहेको कुरा औल्याउँदै यो पत्रिकाले त्यस कार्यको पुर्ति गर्ने कुरामा विश्वास रहेको बताए । पत्रिकाले तेह्रथुम जिल्ला भित्रका मौलिक पहिचानहरुको जगेर्ना, स्थान परिचय, पर्यटनलगायतको सूचनाहरु दिन सक्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मेयङलुङ नगरपालिकाका प्रबक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहालले आफ्नै वडाभित्र कार्यालय रहने गरि पत्रिका प्रकाशन भएकोमा खुशी व्यक्त गरेका थिए । उनले पत्रिका प्रकाशनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । “सम्पूर्ण जनताको साझा पत्रिका बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।” वडाध्यक्ष दाहालले बताए ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशका उपाध्यक्ष टंकमाया लिम्बू, बयोबृद्ध तथा समाजसेवी सर्वजीत निङलेकु, राजनीतिकर्मी कृष्ण चोङबाङ लगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गरेका थिए । पत्रिकाको सल्लाहकारमा डा युवराज तेयुङ र देवेन्द्र खापुङ सुर्केली, सहसम्पादकमा लाल अन्जान सम्बाहाङफे कार्यकारी सम्पादक तथा प्रकाशक राजकुमार तेयुङ तरेवा र व्यावस्थापनमा साम थाम्देन थाङबेन रहेका छन् ।

प्रकाशन सहयोगीमा सुनिल निर्दाेषी पारघरी छथर जोरपाटी २ ताङखुवा, धनकुटा, हाल कोरिया, सन्तोष थेगुबा म्याङलुङ ५ तेह्रथुम, हाल पोल्याण्ड, समाजसेवी प्रेम कुमार पतङवा लिम्बू म्याङलुङ १०,  तेह्रथुम, छवि पंङयाङगु म्याङलुङ १, मन्जुल पाहिम म्याङलुङ १, कमला फोम्बो आठराई गाउपालीका १ सक्रान्ति  सोधन, किरात याक्थुङ चुम्लुङ तेह्रथुम र किरात धर्म तथा सहित्य उत्थान संघ तेह्रथुम  रहेका छन् । यस पत्रिका हरेक महिनाको १ गते प्रकाशन हुनेछ ।हाम्रो मुन्धुम मासिक पत्रिकाका सम्पादक सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार