बिपद्ले झण्डै १४ सय घर भत्किएकोे जुम्लामा ९८ लाख रकम फ्रिज

जुम्ला ः बाढीपहिरोले १४ सय घर भत्किएका क्षेत्रका सांसदले बैठक नराख्दा जुम्लाको निर्वाचन क्षेत्र ९ख०को ९८ लाख रुपैयाँ फ्रिज भएको छ। उक्त रकम विपन्न वर्ग, जनता आवास र विपन्न आवासका लागि छुट्याइएको थियो।

विपन्न वर्ग कार्यक्रम १८ लाख र विपन्न आवासको ४० लाख र जनता आवासको ४० गरी ९८ लाख रकम फ्रिज भएको हो। प्रदेशसभा सदस्य टेकराज पछाई संयोजक रहेको उक्त कार्यक्रमको रकम बैठक नबसी फ्रिज भएको हो।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि वलीले पनि उक्त रकम फ्रिज भएको बताए। उनले भने, ‘समय पनि छोटो थियो। त्यो कार्यक्रममा सम्बन्धित क्षेत्रका सांसद संयोजक हुने व्यवस्था छ। सांसद टेकराज पछाईले बैठक बसाली विपन्न वर्गको छनोट गर्नुपर्ने हो।’

सांसद पछाईले जिल्लामा भएको समीक्षा कार्यक्रमा बोल्दै विगतमा जनता आवासको कार्यक्रम प्रभावकारी नभएका कारण कार्यान्वयन नगरेको बताए। उनले भने, ‘पहिला जनता आवासका घर प्रयोगमा आएका छैनन्। यसकारण जिल्लामा बैठक नराखेको हो।’

त्यस्तै पूर्वाधार विकास कार्यालय जुम्लाका अनुसार विपन्न आवास र जनता आवास गरी निर्वाचन क्षेत्र ९ख०मा ८० लाख खर्च गरिने कार्यक्रम थियो।

त्यसैगरी लक्षित वर्गका लागि भनेर कृषि विकास कार्यालय जुम्लामा १० लाख र पशु अस्पताल तथा पशुसेवा कार्यालयमा आठ लाख आएको थियो।

यो कार्यक्रमको लक्ष्य अतिविपन्न तथा दलितको आयआर्जनका लागि आएको कार्यक्रम हो। उनीहरूको मागको आधारमा दिइने गरिएको छ। ४० भन्दा बढी घरदूरीका लागि उक्त आएको हो।

उक्त कार्यक्रम जुम्लाको निर्वाचन क्षेत्र ९क०मा भने पूर्णरूपमा कार्यान्वयन भएको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाका अनुसार टेकराज पछाईको निर्वाचन क्षेत्रमा कार्यान्वयन हुन नसकेर फ्रिज भएको छ।

उनले भने, ‘हामीले सांसद पछाईलाई खबर गरेका थियौँ। उहाँको व्यस्तताले होला, बैठक बस्न नसक्दा छनोट प्रक्रियामा नगई बजेट फ्रिज भएको हो। सांसद पछाईले वास्ता नगरेका कारण लक्षित वर्ग र विपन्न आवास निर्माणका लागि आएको रकम फ्रिज भएको पाइएको हो।’

जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीका अनुसार त्यो कार्यक्रम उक्त निर्वाचन क्षेत्रमा छनोट हुन नसकी कार्यान्वयन नभएको हो।

सांसद पछाईले यस्तो जवाफ दिए पनि गत असोजमा आएको बाढीपहिरोमा परी तिला‚ सिजा, हिमा र कनका सुन्दरीका धेरै बासिन्दा घरवारविहीन छन्।

आवासविहीन भएका वेला सांसद पछाईले बैठकै नराखी जनता आवास र विपन्न आवासको रकम फ्रिज बनाउनु गैरजिम्मेवारी भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए। उनले जिम्मेवार व्यक्तिको लापर्वाहीले रकम फिर्ता जानु राम्रो नभएको बताए।

उनका अनुसार गत असोजको बाढीपहिरोले करिब १४ सय जुम्लाका घर भत्किएका छन्।

 

सम्बन्धित समाचार