जुम्ला ः जुम्लामा संविधान दिवस, २०८० मनाउने बिषयमा तयारी बैठक बसेको छ । आउने असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका साथ मनाउनका लागी सरोकारवाला बिच बैठक राखिएको हो ।जिल्ला समन्वय समितिका प्रमुख श्री गौरीनन्द आचार्यज्यूको अध्यक्षतामा चन्दननाथ नगरपालिका नगर प्रमुख, उप प्रमुख लगायत जनप्रतिनिधिज्यूहरु, राजनीतिक दल लगायत जिल्ला स्थित कार्यालयका प्रमुखहरु, नागरिक समाज, पत्रकार रहने गरी संविधान दिवस, २०८० जिल्ला समारोह समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले बताए । उनका अनुसार २०८०÷०६÷०३ गते विहान ७ः०० बजे जिल्ला प्रशासन कार्यालय अगाडी भेला भई राजनीतिक दल, सबै कर्मचारीहरु, संघ–संस्था, पत्रकार, नागरिक समाज समेतको सहभागितामा खलंगा बजारमा प्रभातफेरी कार्यक्रम संचालन गर्ने निणर्य गरिएको छ ।
त्यस्तै जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक तथा सामुदायिक संघ–संस्थाहरुले राष्ट्रिय झण्डा एवं व्यानर सजाई कार्यालय र परिसरको सरसफाई गर्ने हो ।त्यस्तै जिल्ला भित्र रहेका धार्मिक, साँस्कृतिक सम्पदास्थालहरुको सरसफाई र सार्वजनिक महत्वका अभिवृद्धि गर्ने , जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु र सार्वजनिक महत्वका सम्भाव्य स्थलहरुमा २,३ र ४ गते साँझ दीप प्रज्ज्वलन गर्ने , साथै, मण्डला, दरबार स्क्वायर जस्ता सार्वजनिक महत्वका स्थानहरुमा सुरक्षाकर्मी सहितको समूहद्वारा दीप प्रज्ज्वलन गर्ने र जिल्लावासी आमनागरिकहरुले समेत आ– आफ्नो घर–घरमा ३ गते साँझ दीप प्रज्ज्वलन गर्न अनुरोध गर्ने निणर्य गरिएको छ ।
त्यस्तै स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट संविधानको महत्वका विषयमा विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रसारण गर्न लगाउने ,संविधान दिवसका सन्दर्भमा संघ, प्रदेश र स्थानीय पालिका एवं सरकारी, गैरसरकारी तथा सामुदायिक संघ– संस्थाहरुबाट आयोजना तथा सञ्चालन हुने रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रमहरुमा आवश्यक समन्वय तथा सहजीकरण गर्ने, गराउने ,जिल्लास्थित मठ–मन्दिर, वुद्ध–विहार, मस्जिद, गुरुद्वार, चर्च लगायत धार्मिक स्थानहरुमा पुजारी – धर्मगुरुबाट नित्य पुजा, पाठ वा प्रार्थना गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरुको आत्माको चीरशान्तीको कामनासहित उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने व्यवस्था मिलाउने भएको छ ।
त्यस्तै परापूर्वकाल देखि जुम्ला जिल्लास्थित विभिन्न मठमन्दिर तथा शक्तिपिठहरुमा वडा दशैं लगायतका अन्य पर्वहरुमा प्रचलन अनुसार मनाउदै आइएको रितिरिवाज तथा संस्कारहरुको व्यवस्थापन सम्बन्धित व्यवस्थापन समितिहरु, स्थानिय सरकार र सरोकारवाला निकायबीच समन्वय गरि धर्म, संस्कृती र संस्कारको जगेर्ना गर्ने गराउने निर्णय भएको छ ।