प्रचण्डको राजनीतिक प्रतिवेदन : नेताले सिंहदरबार र बालुवाटार मात्रै धाएको विश्लेषण (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादीका नेताहरूले सिंहदरबार, बालुवाटार र प्रदेश राजधानी लगायतका शक्ति केन्द्र धाउने गरेको टिप्पणी गरेका छन् । हालै सकिएको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा उनले पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो कडा टिप्पणी गरेका हुन् ।

राजनीतिक प्रतिवेदनमा नेताहरूमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने प्रवृत्ति, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने प्रवृत्ति रहेको उल्लेख छ । जिम्मेवारी लिने तर कार्यक्षेत्र र जनतामाझ नजाँदा संगठनमा समस्या आएको समेत प्रचण्डले उल्लेख गरेका छन् ।

कमीकमजोरीबारे समितिमा आलोचना आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने प्रवृत्ति रहेको पनि उनको विश्लेषण छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको पूर्ण बैठक गत महिना साउन १७ देखि २१ गतेसम्म बसेको थियो । उक्त बैठकमा माओवादी अध्यक्ष प्रचण्डले राजनीति प्रतिवेदन पढेर सुनाएका थिए ।

उक्त पार्टीको बैठक साउन २१ गते सकिए पनि अध्यक्ष प्रचण्डको राजनीति प्रतिवेदन भने बल्ल सार्वजनिक भएको छ ।
प्रतिवेदनमा वैचारिक, सांगठनिक र सांस्कृतिक पुनर्गठनमा जोड दिइएको छ । प्रचण्डको उक्त दस्तावेजमा देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुढृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्ने, संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्नेजस्ता कार्ययोजना समेटिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘यदि हामीले अविलम्ब विचार र राजनीति, अभिव्यक्तिअनुसार संगठनात्मक व्यवहार र सांस्कृतिक आचरणमा रुपान्तरण गर्ने नीति, योजना र कार्यक्रम तयार गरेर त्यसको अनुसरण गर्ने कठोर प्रतिज्ञा गरेनौँ भने कम्युनिस्ट पार्टीको रूपमा हाम्रो विघटन र विसर्जनलाई कसैले रोक्न सक्दैन । अतः केन्द्रीय समितिको यो पूर्ण बैठकको काँधमा यही विरोधाभाष र अन्तरविरोधको समाधानका लागि ठोस नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने ऐतिहासिक महत्वको जिम्मेवारी रहेको छ ।’

मौखिक रूपमा सुनाइएको अध्यक्ष प्रचण्डको प्रतिवेदनमा २८१ जना नेताहरूले आफ्नो धारणा राखेका थिए । यो बैठकमा पार्टी अध्यक्षलगायत नेताहरूको आलोचना भएको थियो ।

केही नेताहरूको सुन तस्करीमा नाम जोडिएकाले छानबिन हुनुपर्ने माग पनि उठेको थियो । केही नेताहरूले अध्यक्ष प्रचण्ड परिवारवादमा रमेको आरोप पनि लगाएका थिए ।

२०४४ सालदेखि एकता केन्द्रहुँदै पार्टीको नेतृत्व गरिरहेका प्रचण्डमाथि यो बैठकमा धेरै प्रश्न उठे । माओवादीले बैठकबाट प्रदेश समितिका इन्चार्जहरू परिवर्तन गर्‍यो । यही भदौ १६ गतेदेखि तीनमहिने ुजनतासँग माओवादी विशेष रुपान्तरण अभियानु सञ्चालन गर्ने भएको छ ।

यो बैठकबाट माओवादीले ुजनयुद्धुकालीन समयको जसरी नेतृत्वको कार्यविभाजन गरेको छ । मधेशका नेतालाई कर्णालीको इन्चार्जको जिम्मा दिएको छ । लुम्बिनीका नेतालाई सुदूरपश्चिमको इन्चार्ज बनाएको छ । लुम्बिनीका नेतालाई कोशी प्रदेशको जिम्मा दिएको छ । लुम्बिनी र कर्णालीका नेतालाई बागमती र विशेष प्रदेशको जिम्मा लगाएको छ ।

राजनीतिक दस्तावेजमा प्रचण्डले गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनबाट नै धोका भएको बताएका छन् ।

१७–२१ साउनसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत राजनीति दस्तावेजमा अध्यक्ष प्रचण्डले निर्वाचनमा माओवादी केन्द्रलाई परास्त गर्न अनेकन घेराबन्दी र षड्यन्त्र भएको उल्लेख गरेका छन् । ‘चुनावी गठबन्धनको पक्षमा हाम्रो पार्टीले इमानदारीपूर्वक मतदान गरे पनि हाम्रो पक्षमा मत स्थानान्तरण सापेक्षित रूपमा कम भयो । यो विषय माओवादीलाई कमजोर पार्ने नियतसँग सम्बन्धित थियो,’ उनले भनेका छन् ।

निर्वाचनभन्दा पहिलादेखि नै कांग्रेसलगायत दलहरूको गठबन्धन थियो । उक्त गठबन्धनले निर्वाचनमा क्षेत्र भागवण्डा गरेको थियो । जस अनुसार कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चालगायत दल मिलेर चुनाव लडेका थिए ।निर्वाचन परिणाम आएपछि एकले अर्कोलाई इमानदारीपूर्वक भोट नहालेको आरोप(प्रत्यारोप चलेको थियो ।

निर्वाचन परिणामबाट माओवादीको समग्र आकार पहिलेको तुलनामा केही घटेको भए पनि प्राप्त सिट संख्या सरकार गठनका लागि महत्त्वपूर्ण नै भएको उनले बताएका छन् । निर्वाचनपपछि गठबन्धन दलसँग भएको समझदारी इमानदारितापूर्वक कार्यान्वयन नगर्ने षड्यन्त्र भएको अध्यक्ष प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।

‘गठबन्धन दलसँग भएको समझदारी इमानदारिताका साथ कार्यान्वयन नगर्ने षड्यन्त्र भए । हाम्रो पार्टीलाई सरकार बाहिर राख्न खोज्ने प्रवृत्तिबाट अनेकौँ कोसिस गरिए । तर, यसका बाबजुद हाम्रै नेतृत्वमा सरकार बन्यो,’ प्रतिवेदनमा उनले भनेका छन् ।

पहिलोपटक संसदमा विश्वासको मत लिँदा झन्डै शतप्रतिशत मत प्राप्त गर्नु इतिहासमै अभूतपूर्व रेकर्ड, युगान्तकारी परिवर्तनको प्रत्यक्ष नेतृत्व गरेको पार्टी र नेतृत्वप्रतिको न्याय मात्र नभई राजनीतिक परिवर्तनको घनत्वको प्रभाव पनि भएको प्रचण्डको दाबी छ ।

सरकार सञ्चालनमा पहलकदमी लिने, शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउने, संविधानको रक्षा र कार्यान्वयन गर्ने सवालमा तत्कालीन गठबन्धन सहज नहुने, राष्ट्रपति र सभामुखलगायतका महत्त्वपूर्ण जिम्मेवारी एउटै पार्टीसँग हुँदा राजनीतिक शक्ति सन्तुलन कायम गर्नसमेत कठिन हुने भएकाले गठबन्धन तोडेको प्रचण्डको भनाइ छ ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्नुलाई नेतृत्वको सुझबुझपूर्ण निर्णय भएको र त्यसको पुष्टि भएको उनले बताएका छन् ।

बैठकमा मौखिक रूपमा सुनाएको राजनीतिक प्रतिवेदनलाई सुझाव समेटेर अहिले लिखित रूपमा पार्टी नेताहरूलाई वितरण गरिएको छ । प्रचण्डको उक्त राजनीतिक प्रतिवेदन ११ पृष्ठको छ ।

सम्बन्धित समाचार