काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा स्वागत गर्ने बताएका छन् । पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले उनलाई स्वागत हुने बताएका छन् ।
आइतबार विराटगरमा आयोजित एमालेको कोशी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई कसैले निषेध नगरेको र सधैँ स्वागत हुने बताएका छन् ।
ओलीले राजनीतिक गर्छु भन्दा भण्डारीलाई कसैले नरोक्ने बताए । उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’ ओलीले भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको समेत बताए ।
उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’
पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चा चले पनि उनले आफैँ भने मुख खोलिसकेकी छैनन् ।