काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ। सरकार मज्जाले चल्छ।’
सुरुमा एमाले नेतृत्वमा सरकार बनेको थियो । तर केहि महिना पहिला माओवादी र जसपाले विश्वासको मत फिर्ता दिएको थियो । दुई दलले विश्वासको मत फिर्ता लिएपछि एक मत नपुग्दा सरकार ढलेको थियो ।
अहिले कोशीमा कांग्रेस नेतृत्वमा गठबन्धन सरकार छ। कांग्रेस , माओवादी जसपा रहेका छन् । एमालेसँग उपसभामुखसहित ४० सांसद छन्। उसलाई साथ दिइरहेको राप्रपाको छ सांसद छन्।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत सविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन काम नगर्न भनेको छ। यहीबेला ओलीले एमाले सरकार बन्ने दाबी गरेका हुन्।
कोशीमा नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको पनि ओलीले बताएका छन्।
मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पार्टीले संविधान नमानेको देख्दा अचम्म लागेको बताए।
‘माओवादीले संविधान मान्दिनँ भनेर हतियार उठाएर गएको थियो’, उनले भने, ‘अहिले पनि मानेको छैन। तर, कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ।’
उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे(जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताए।