काठमाडौं । धादिङको गजुरीमा बुधवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ भने २ जनाको सनाखत हुन सकेको छैन ।
मृतक ६ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बसमा २५ जना सवार रहेकोमा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो । पाँच जना गम्भीर अवस्थाका बिरामीबाहेक अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी, धादिङले आज साँझ दिएको दुर्घटना अपडेटअनुसार मृतक आठ जनामध्ये दुई महिला ६ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा म्याग्दी रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी गाउँपालिका–१ बस्ने १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका–८ बस्ने २० वर्षीय सुशील रम्तेल, कास्की फुलबारी ११ बस्ने अन्दाजी २५ वर्षीय सुमन थापा, पर्वत जलजला गाउँपालिका–६ बस्ने ४२ वर्षीया राधिका सापकोटा र पर्वत मोदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय झपटबहादुर क्षेत्री रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृतक अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।
ट्रमा सेन्टर काठमाडौंमा उपचाररत् म्याग्दी जिल्लाकी ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश घर भएका ३५ वर्षीय सुदीप मण्डलको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, ट्रमा सेन्टर काठमाडौंमा उपचार गराइरहेका म्याग्दी बेनी नगरपालिका–३ बस्ने २९ वर्षीय गौतम छन्त्याल, बयोधा अस्पताल बल्खु काठमाण्डौंमा उपचार्त म्याग्दी अन्नपुर्ण गाउँपालिका–३ बस्ने २२ वर्षीया अञ्जु राना मगर र म्याग्दी गरुङ्गंगा गाउँपालिका–७ बस्ने २९ वर्षीय प्रविन पुनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी, बंगलादेश घर भएका ३२ वर्षीय मोहमद हजिरहुल, बाग्लुङ बस्ने १९ वर्षीया सुस्मा क्षेत्री, बस चालक म्याग्दी बेनी नगरपालिका–६ बस्ने ३० वर्षीय दिपक थापा, म्याग्दी बेनी नगरपालिका–३ बस्ने २४ वर्षीय पूर्ण छन्त्याल, पर्वत मोदी गाउँपालिका–१ बस्ने ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने ५२ वर्षीय खड्ककुमार श्रेष्ठको ट्रमा सेन्टरमा र म्याग्दी रघुगंगा–६ बस्ने २३ वर्षीया रिना रानामगरको मेडिसिटी ईनमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बयोधा अस्पताल बल्खुमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने १९ वर्षीय कुशल अधिकारी, पर्वत फलेवास नगरपालिका बस्ने ६३ वर्षीया हरिकला गौडेलको उपचार भइरहेको छ । म्याग्दी मंगला गाउँपालिका–२ बस्ने १६ वर्षीया गिता जंजाली मगरको टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको तथा उनलाई साँझ काठमाडौं रिफर गरेर पठाइएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
काठमाडौंबाट पोखरा हुँदै पर्वत–म्याग्दी बेनीका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस (म्याग्दी कोरला यातायात प्रालि) सडकको विपरित दिशाबाट करिब ४० मिटर तल त्रिशुली खोलामा खसेको थियो ।
बस दुर्घटनाको ठोस कारण र क्षतिबारे विवरण आइनसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले ओभरटेक गर्न लाग्दा अनियन्त्रित भई बस त्रिशुली नदीमा खसेको देखिन्छ ।
बस दुर्घटनापछि बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा २५ जना, जिल्ला प्रहरी कार्यालय धादिङबाट १३ जना, ट्राफिक प्रहरी गजुरीबाट १० जनासहित सशस्त्र प्रहरीको १५ जना, नेपाली सेनाको ३५ सदस्यीय गोताखोरसहितको उद्दार टोली खटिएको थियो ।