काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने प्रतिक्रिया दिए ।
‘गिरीबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिनाकानुन पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानुन बनाइदिएका छौँ,’ ओलीले भने, ‘जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’
सरकार लचिलो भएर सदन खुलाएकोमा ओलीले धन्यवाद दिए । अहिले निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने ओलीले बताए ।
‘उहाँहरू लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो, ओलीले भने, ‘यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो ।’