माधव र बाबुरामको बयान लिन घरमै पुगिन् सिआइबी प्रमुख

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुईजना पूर्वप्रधानमन्त्रीसँग बयान लिएको छ।

सिआइबी प्रमुख किरण बज्राचार्यले निवासमा पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामम भट्टाराईसँग बयान लिएकी हुन्।

उनीहरूले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कार्यकालमा भएको घटनाबारे जानकारी गराएको प्रहरी स्रोतले जानकारी दियो। यता, एआइजी बज्राचार्यले पनि बयान लिएको विषय स्वीकार गरिन्। ‘हामी अनुसन्धानको क्रममा छौँ। त्यसकारण बयान लिने काम चलिरहन्छ,’ उनले भनिन्।

स्रोतका अनुसार हिजो साँझ एआइजी प्रमुख बज्राचार्यले दुवै प्रधानमन्त्रीहरूसँग बयान लिएकी हुन्।

‘हामी हाम्रो काम गरिरहेका छौँ। विस्तारै अन्यसँग पनि बयान लिने काम हुन्छ। हिजो साँझ सिआइबी प्रमुखले गएर सोधपुछ गर्नुभएको हो,’ स्रोतले थाहाखबरसँग भन्यो।

सिआइबीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको छ।

प्रहरीले आज प्रतिवेदन बुझाउने तयारी भएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले जानकारी दिए। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ।

किर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको  सीआईबीले मुद्दाका लागि सरकारी वकिललाई सिफारिस गर्ने प्रतिवादीको संख्या भने टुंगो लगाएको छैन। ​सिआइबीले आइतबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर आरोपी धेरै भएकाले सोमबारसम्म जिल्ला सरकारी वकिललाई रायसहितको प्रतिवेदन दिनेगरी काम भइरहेको सीआईबीले जनाएको छ।

यसअघि ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको सिआइबीले संलग्नताका आधारमा सबैलाई प्रतिवादी बनाउनुपर्ने राय दिने तयारी गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो।

उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ्गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ।
 

सम्बन्धित समाचार