नेकपा (माओवादी केन्द्र) कै नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारको आफ्नै पार्टीभित्र व्यापक आलोचना सुरु भएको छ।
तीनमहिने अभियानलाई सफल बनाउन कर्णालीमा इन्चार्ज भएर आएका उपमहासचिव मात्रिका यादवले सुझाव माग्ने आयोजित कार्यक्रममा कर्णाली सरकारकै आलोचनाको मुख्य विषयले भारी समय खर्चियो।
अधिकांश बैठकमा सहभागीले मुख्यमन्त्री राजकुमार शर्मासँग सम्पर्क समेत गर्न मुस्किल भएको बताएका थिए। माके कर्णालीकी अध्यक्ष विमला केसीले भनिन्, ‘मुख्यमन्त्रीलाई पार्टीले कुनै हस्तक्षेप नगर्ने निर्णय गरिसकेकाले हामी केही नभन्ने पक्षमा छौँ। उहाँलाई कसरी काम गर्दा सजिलो हुन्छ‚ त्यही गर्नुहुन्छ।’
अर्का स्थायी सदस्य कालीबहादुर मल्लले आफ्नो पार्टीबाट गएका मन्त्रीहरूलाई एकजना स्वकीय राख्दा पार्टीका सिफारिसमा राख्नु, अरू चाहेका व्यक्तिलाई राख्नु भने पनि त्यो कुरा कार्यान्वयन नभएको बताए। उनले भने, ‘पटक पटक मैले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छु। बाँकी काम गर्ने उहाँले हो।’
शनिबारदेखि सुर्खेतमा कर्णालीका १० जिल्लाबाट आएका पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिइन लागेको छ। त्यहाँ समेत पार्टी र सरकारको बीचमा तालमेल नमिलेको आवाज चर्को रूपमा उठेको छ। अहिलेसम्म व्यापारी, पत्रकार तथा शुभचिन्तकसँग प्रदेश इन्चार्ज मात्रिका यादवको उपस्थितिमा अन्तरसंवाद हुँदै आएका छन्।
सत्तामा पुग्नासाथ पार्टीका कुरा नसुन्ने प्रवृत्तिले गर्दा आफूहरू हैरान भएको सहभागीले बताएका छन्। प्रदेश समितिका पदाधिकारी समेतले सरकारमा सहभागी साथीहरूले आफ्नो कुरा नसुनेको गुनासो गरे। त्यस्तै केही सहभागीले ‘तपाईंहरू अहिले बाहिर हुनुहुन्छ, तपाईंहरू सरकारमा हुँदा कस्तो गर्नुभएको थियो, अहिले अर्काले कुरा नसुन्दा कस्तो अनुभूति हुँदोरहेछ’ भन्दै व्यङ्ग्य समेत गरेका थिए।
सरकारका महत्त्वपूर्ण अंगमा राजनीतिक नियुक्ति गर्नुपर्नेमा वर्ष दिनसम्म खाली राखेर के गर्न खोजेको भन्दै मुख्यमन्त्रीलाई सहभागीले प्रश्न गरेका थिए।
स्थानीय तहका जनप्रतिनिधिले समेत पार्टीका कुरा नसुनेर एकलौटी तरिकाले अघि बढेको भन्दै आलोचना भएको छ। संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मको आलोचना भइरहेको छ। पार्टीभित्र आलोचना गरेमा मन नपरेकाले भित्तामा पुर्याउने गरेको समेत गुनासो गरिएको छ।
प्रदेश इन्चार्ज यादवले यो समस्या देशैभर भएकाले नै यो तीनमहिने अभियान सञ्चालन गरिएको बताए। अब गाउँगाउँमा माओवादी, जनजनमा माओवादी भए मात्र यो पार्टी बन्ने उनले तर्क गरे। उनले गुट उपगुट सबैलाई पिसेर धुलो बनाइने समेत बताए। नेताहरू सुविधाभोगी भएको र जनताको कुरा सुन्न छोडेको भन्दै आलोचना भएपछि नेताहरूलाई जवाफ दिन मुस्किल हुँदै आएको छ।