काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा ललिता निवास जग्गा प्रकरणदेखि सुन काण्डसम्म छलफल भएको छ । त्यस्तै संसद् अवरोध, गौर हत्या काण्ड लगायत विषयमा छलफल भएको छ ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नपर्ने समेत गठबन्धनको बैठकमा नेताहरुबीच एकमत भएको एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले बताए । सुन प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराको नाम समेत जोडिएको भन्दै त्यसबारे गृहमन्त्रीसँग गठबन्धनका नेताहरूले प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिनकै क्रममा रहेकाले त्यसबारे अहिले नै महराको संलग्नता पुष्टि हुन नसक्ने बताएका थिए ।
त्यस्तै गौर हत्या काण्ड स्टन्टबाजी मात्र भएको गठबन्धनले ठहर गरेको छ । गौर हत्याकाण्डमा चारवटा प्रतिवेदन रहेको र फरक फरक कुरा रहेकाले मारिएका घरपरिवारले राज्यबाट राहत पाइसकेकाले कानुन सम्मत टुंग्याउने कुरा भएको पाण्डेले बताए ।
त्यस्तै ललिता निवास प्रकरणमा सर्वोच्चको फैसलाबारे छलफल भएपनि निष्कर्षमा नपुगेको भन्दै छिटै सत्यतथ्य बाहिर ल्याउने गठबन्धनले जनाएको छ ।