काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिनिधिसभाका सांसद सुनिलकुमार शर्मा पक्राउ परेकाबारे संसद सचिवालयलाई जानकारी गराएको छ । उनलाई सिआइबीले आजै काठमाडौँको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाका सदस्य सुनिल कुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराईएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सभामुखलाई सम्बोधन गरिएको सिआइबीको पत्रमा उल्लेख छ।
उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका सिआइबीले जनाएको छ।
सिआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्रहरु पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकोले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको पनि सिआइबीले बताएको छ।
सोही क्रममा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड, सानो ठिमीबाट शर्माको आइएससीको सर्टिफिकेट नट भेरिभाइड भनेर उल्लेख रहेकाले अनुसन्धान थालिएको सिआइबीका प्रमुख किरण बज्राचार्यले बताइन्। थाहा खवरबाट सभार