आँखा पाक्ने रोगबाट जोगिने ६ उपाय

अहिले आँखा पाक्ने रोगले धेरैलाई ग्रसित बनाएको छ । साना बालबालिकामा अझ यो समस्या धेरै देखिएको छ, जसका कारण कतिपय स्थानमा विद्यालयमा समेत बिदा दिइएको छ ।

यस्तोमा आँखा पाक्ने रोगबाट कसरी जोगिने भन्ने धेरैलाई चिन्ता भइरहेको हुन्छ । यसबाट जोगिने मुख्य उपाय सरसफाइमा ध्यान दिनु हो । आँखा पाक्ने समस्या भइहालेमा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

साबुनपानीले हात धुने

आँखा पाक्ने व्यक्तिलाई छुँदा, उसले प्रयोग गरेका सामान छुँदा र आँखामा औषधि लगाइसकेपछि साबुनपानीले हात धुनुपर्छ । किनकि आँखा पाक्ने रोग आँसु र कचेराका कारण सर्ने गर्छ । यी सबै गरिसकेपछि हात धुँदा संक्रमण हुने जोखिम न्यून हुन्छ । त्यसैले हेलचेक्र्याइँ नगरी आँखा पाक्ने रोग लागेका मानिससँग प्रत्यक्ष सम्पर्कमा आउँदा हात धुने गर्नुपर्छ ।

छुट्टै सुत्ने

आँखा पाकेको छ भने त्यस्ता व्यक्ति निको नभएसम्म छुट्टै कोठामा सुत्नु राम्रो हुन्छ । यसो गर्दा संक्रमित व्यक्तिको घरका अरु सामानसँग प्रत्यक्ष सम्पर्क हुन पाउँदैन र सर्ने सम्भावना कम हुन्छ । त्यस्तै आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल, तकिया, लुगा, मोबाइल, ल्यापटप लगायत सामान अरुले प्रयोग नगर्नु उत्तम हुन्छ ।

मुख धुने

आँखा पाकेको बेला पटकपटक मुख धुनुपर्छ । यसबेला आँसु बगिरहने र कचेरा आइरहने भएकाले मुख धुँदा ती आँसु र कचेरा पखालिन्छन् । जसले अरुलाई सर्ने सम्भावना न्यून हुन्छ । तर आँखालाई हातमा पानी राखेर झिमझिम गर्ने वा आँखालाई बल गरेर धुने कार्य भने गर्नुहुँदैन । यसले संक्रमण बढ्न सक्छ । त्यसैले आँखा चिम्लेर दैनिक चार-पाँच पटक धुन सकिन्छ ।

चश्मा लगाउने

आँखा पाकेका व्यक्तिले कालो चश्मा लगाएर बस्नुपर्छ । यसो गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । साथै आँखाको नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठ्यारो र चिडचिडापन हुने भएकाले त्यसबाट जोगाउन मद्दत गर्छ । साथै संक्रमित आँखामा थप बाह्य संक्रमण हुनबाट रोक्न पनि मद्दत गर्छ ।

एन्टिबायोटिक प्रयोग गर्ने                                 

आँखा पाकेमा चिकित्सकलाई जाँच गराएर एन्टिबायोटिक लगाउन सकिन्छ । दिनको तीनदेखि पाँच पटकसम्म यसलाई लगाउन सकिन्छ ।

डभाडबाट टाढा रहने

आँखा पाकेको छ भने भीडभाडमा हुने स्थान जस्तै, विद्यालय, पार्क र मलमा जानुहुँदैन । सकेसम्म घरमै बस्दा उचित हुन्छ । यसले गर्दा अरुलाई सर्ने सम्भावना कम हुन्छ । प्राय: बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई यो रोग चाँडै सर्छ ।

सम्बन्धित समाचार