काठमाडौं । नेकपा माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । पाँच दिनसम्म काठमाडौंमा चलेको बैठकमा माओवादी र त्यसको नेतृत्व घेराबन्दीमा परेको निस्कर्ष निकालेको छ ।
माओवादीले तीनमहिने जनतासँग माओवादी पार्टी अभियान चलाउने निर्णय गरेको छ । पार्टी विस्तार तथा शुद्धीकरणका लागि सात वटा प्रदेशका सात वडामा जाने जिम्मेवारी लिएका छन्।
यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन्।
‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु। ती वडामा जनताको स्थिति, पार्टीको स्थिति र शहीद परिवारको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु,’ अध्यक्ष प्रचण्डले भने, ‘सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी जानुहुन्छ।’
बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको टिप्पणी गरेका छन् ।
उनले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउने कोसिस भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपरेको स्मरण गराउँदै आजै पनि आफूहरूलाई जेल हाल्ने कुरा भइरहेको बताए ।
उनले लिडरसिपलाई जेल हाल्ने षड्यन्त्रहरू भइरहेकाले त्यसलाई पनि परास्त गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैठकले पार्टीलाई एकढिक्का बनाएको समेत बताए । उनले वादविवाद र संवादबाट पार्टी एकढिक्का भएको बताए ।
बैठकको सुरुवाती दिनमा केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डको तीव्र आलोचना गरे पनि बैठक सकिने दिनसम्म आइपुग्दा प्रचण्डको प्रशंसा भएको थियो ।