काठमाडौं । ललिता निवास प्रकरणमा मीनबहादुर गुरुङलगायत ७ जना पक्राउ परेका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा दोस्रो पटक पक्राउ परेका छन्।
गुरूङलाई काठमाडौंको भाटभटेनीस्थित निवासबाटै नेपाल प्रहरीको सिआइबीले मंगलबार पक्राउ गरेको हो। गुरूङ यसअघि पनि यही जग्गा प्रकरणमा पक्राउ परे पनि धरौटीमा छुटेका थिए। त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलाई पनि आजै पक्राउ गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध ललिता निवास प्रकरणमा मुद्दा चलाइसकेको छ। उनीविरूद्ध अख्तियारले ३९ करोड २७ लाख ६८ हजार रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ। उक्त मुद्दामा गुरूङ तीन करोड रूपैयाँ धरौटीमा रिहा भएका थिए।
यसपटक प्रहरीले उक्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गरिरहेको छ। नक्कली मोही खडा गर्न किर्ते गरिएको आरोपमा अनुसन्धानका लागि यसपालि गुरूङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हामी यो प्रकरणमा जोडिएका मुख्यमुख्य पात्रहरू जसले सुरूमा बहकाउने, जानाजान जग्गा लिने, व्यवस्थापन गर्ने र नक्कली कागजपत्र खडा गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँछौं,’ केन्द्रीय अनुसन्धान ब्युरोका अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले भनिन्, ‘पहिला यो अनुसन्धानमा केही कागजात कमी भएर रोकिइरहेको थियो।’
बालुवाटार जग्गा प्रकरणका दुई मुख्य योजनाकार शोभाकान्त ढकाल र राम सुवेदीसँग गुरूङको पुरानो सम्बन्ध थियो। ढकाल र गुरूङ दुवै जना २०६६र६७ सालमा कुमारी बैंकका सञ्चालक थिए।
बालुवाटार जग्गाका मुख्य योजनाकार ढकाल र सुवेदीले अपचलन गरी आफ्ना नाममा ल्याएको जग्गामध्ये सबभन्दा धेरै भाटभटेनी सुपरमार्केट र त्यसका सञ्चालक मीनबहादुर गुरूङ र उनको परिवारको नाममा छ।
बालुवाटारमा मीनबहादुर र उनको परिवारको नाममा पनि झन्डै १४ रोपनी जग्गा देखिन्छ। मीनबहादुरकै नाममा साढे चार आना छ भने उनकी छोरी कामना गुरूङका नाममा तीन रोपनीभन्दा केही बढी र छोरा कल्याणको नाममा तीन रोपनी छ।
त्यस्तै मीनबहादुरका आफ्नै भाइ पहलमान गुरूङकी पत्नी सरलाको नाममा चार रोपनी जग्गा देखिन्छ। भाटभटेनी सुपरमार्केटकै नाममा तीन रोपनी छ।
शारदाप्रसाद त्रिताल र महेश्वकुमार थापाको छानबिन समितिले बालुवाटार जग्गा प्रकरणमा कोही पनि मोही नभएको रिपोर्ट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको थियो। समितिले २०७६ सालमै तत्कालीन भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई बालुवाटार जग्गा प्रकरणमा मोही भएको कागजात लिएर कोही व्यक्ति आए सक्कली हो या नक्कली भन्ने पत्ता लगाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउन आग्रह गरेको थियो।
सरकारले २०२१ सालमा अधिग्रहण गरेको बालुवाटारस्थित सुवर्णशमशेरको परिवारका नाममा रहेको २९९ रोपनी जग्गामा कुनै पनि मोही र गुठी नरहेको निष्कर्ष छानबिन समितिले निकालेको थियो।
त्रिताल थापा समितिको छानबिन प्रतिवेदनअनुसार कारबाही अघि बढाउन २०७६ सालमा मन्त्रिपरिषदले अख्तियार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई लेखी पठाएको थियो। बालुवाटारको जग्गा प्रकरणमा थप छानबिन गरी कागजात किर्ते, ठगी लगायतमा संलग्नलाई कारबाही चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिन समितिले सिफारिस गरेको थियो।