वर्तमान नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा १८ मा ‘समानताको हक’ तथा धारा ३९ मा ‘महिलाको हक’ राखिएको छ । यो हकलाई अन्धविश्वासले ओझेलमा पार्न खोजेको पाइन्छ । अझै पनि देशका कतिपय मठमन्दिर तथा पर्यटकीय स्थलहरूमा महिला जान हुँदैन, गएमा अशुद्ध हुन्छ मात्र होइन, अनिष्ट भएर मृत्यु नै हुन्छ भन्नेसम्मको अन्धविश्वास कायमै छ । यसलाई विभिन्न तरिकाले तोड्ने प्रयासहरू पनि हुने गरेका छन् ।
परम्परादेखि निषेधित मानिएको ठाउँको यात्रा गर्न पाउँदाको अनुभव पनि रमाइलै हुने रहेछ । मैले पत्रकारको हैसियतमा भ्रमण टोलीमा सहभागी हुने अवसर पाएकी थिएँ । सामान्य महिला भएको भए यस्तो अवसर पाउन गाह्रो मात्र होइन, असम्भव नै थियो ।
जुम्लाका कतिपय पर्यटकीय तथा रमणीय स्थलहरूमा समेत महिला जाँदा अशुद्ध र अनिष्ट हुन्छ भन्ने गरिन्छ । ती भनाइमध्ये केही महिलाको प्राकृतिक अवस्थासँग सम्बन्धित छन् । तीमध्ये केही हुन्, ‘गर्भवती अवस्थामा मन्दिर भएको ठाउँमा हिँड्न हुँदैन’, ‘गर्भवती भएको घरमा धामीझाँक्रीले पानी खान हुँदैन’, ‘गर्भवतीले नदी तर्न हुँदैन’ आदि । यस्तो भन्ने चलन जुम्लातिर अझै हराइसकेको छैन । ‘महिलाले गर्न नहुने’ भनी महिलालाई बन्देज गरिएका भनाइका सूचीमा धेरै कुरा पर्छन् । तीमध्येको एउटा उदाहरण हो, तातोपानी गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राकृतिक ताल गिडिदहको भ्रमण पनि ।
जुम्लाको तातोपानी गाउँपालिकाकै पहल र पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको नेतृत्वमा एउटा टोली गिडिदह जाने निर्णय भयो । त्यसमा तीन जना महिला पनि थियौँ । टोलीमा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल र नेकपा एमाले पार्टीकी कर्णाली प्रदेश प्रतिनिधि नारायणी चौलागाईं र म जाने भयौँ ।
यात्राको तयारी हुँदै थियो । यस्तैमा एक जना ज्येष्ठ नागरिकले मलाई ‘महिला जान हुँदैन त्यहाँ, तिमी फर्किंदैनौ कि ?’ पनि भन्न भ्याउनुभयो । मैले उहाँको कुरो सुनेँ मात्र केही भनिनँ । मनमनै सोचेँ, ‘जे भए होला म जान्छु ।’ म यस्ता अन्धविश्वासहरूमा विश्वास गर्दिनँ । यसैले त्यसलाई चिर्दै यात्रा गर्ने मन भयो । म रहरले गएँ । पदीय जिम्मेवारीका कारण जान लाग्नुभएका अरू दुई जना महिलालाई के लागेको थियो, त्यो थाहा भएन । उहाँहरूलाई पनि ‘जान हुँदैन’ भन्ने कोही निस्के कि ? त्यसबारे हामीले कुनै चर्चा नै गरेनौँ । यसै पनि बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ भन्ने त उखान नै छ । नचाहिने कुरा सुनेपछि जतिसुकै बलियो भए पनि मनमा हल्का चिसो पस्न सक्छ । यसैले त्यतिबेला त्यसलाई बाहिर निकालेर माहोल चिस्याउने काम हामीबाट भएन । यात्राको तयारीपछि हाम्रो टोली २०७९ असोज ४ गते गिडिदहतर्फ हिँड्यो । बास बस्ने ठाउँमा बिहान बेलुका खाना पकाउनको लागि हामीसँग एउटा छुट्टै टोली पनि थियो । त्यो टोलीले दाल चामललगायत खानपिनको सामग्री बोकेको थियो । यसका अतिरिक्त दिउँसो हिँडने बेला भोक लाग्दा खानका लागि चाहिने चाउचाउ, भुजिया, चिउरा, बिस्कुटलगायतका खानेकुरा हामी सबैले आ–आफ्नो ब्यागमा राखेका थियौँ ।
गिडिदह नामले नै पहाडको टुप्पामा अथवा हिमालको फेदमै रहेको ताल हो भन्ने त थाहा थियो । तर, मनमा एउटा सङ्गीन प्रश्नले निरन्तर घोचिरहेको पनि थियो– यो पवित्र प्राकृतिक तालसँग किन समाजले लिङ्गभेदी अन्धविश्वास जोडिदिएको होला ?
दह जानुको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने थियो । तातोपानी गाउँपालिकाको चाहना यही थियो । परम्परादेखि निषेधित मानिएको ठाउँको यात्रा गर्न पाउँदाको अनुभव पनि रमाइलै हुने रहेछ । मैले पत्रकारको हैसियतमा भ्रमण टोलीमा सहभागी हुने अवसर पाएकी थिएँ । सामान्य महिला भएको भए यस्तो अवसर पाउन गाह्रो मात्र होइन, असम्भव नै थियो । मलाई थाहा छ, व्यक्तिगत रूपमा मैले महिलाविरुद्धको अन्धविश्वासलाई चिर्न चाहे पनि पत्रकार नभएको भए गिडिदहको यात्रा गर्न पाउने थिइनँ । यसैले यो यात्रालाई जोखिमपूर्ण भए पनि मैले अवसर मानेको हुँ ।
अन्धविश्वासको कारण र निवारण
गिडिदह नामले नै पहाडको टुप्पामा अथवा हिमालको फेदमै रहेको ताल हो भन्ने त थाहा थियो । तर, मनमा एउटा सङ्गीन प्रश्नले निरन्तर घोचिरहेको पनि थियो– यो पवित्र प्राकृतिक तालसँग किन समाजले लिङ्गभेदी अन्धविश्वास जोडिदिएको होला ? यस्तैमा तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डे बाटामै भेटिनुभयो । नामकरणका सम्बन्धमा उहाँको भनाइ छ, “हिमालबाट तलतिर बगेको खोलाको नाम गिडिखोला राखियो । गिडिखोलामा आउने पानी गिडिदहको निकासा हो । त्यसरी यो दहको नाम गिडिदह राखिएको हो ।” यसको मूल खोज्दै जाँदा सँस्कृत भाषामा शिखर, पहाड, टाकुरा आदि जनाउने ‘गिरिः’ र ‘गिरिकः’ शब्दहरू भेटिन्छन् । यिनै शब्दहरूको उच्चारणमा परिवर्तन हुँदै गएर जुम्लामा ‘गिडि’ शब्द बनेको र यसको नामकरणमा कुनै खालको अन्धविश्वासको गन्ध पनि नभएको बुझेपछि मनमा पसेको चिसो अलि कम हुने नै भयो ।
साथसाथै, गिडिदह जानबाट महिलालाई मात्रै किन बन्देज गरिएको होला ? यसको चित्तबुझ्दो उत्तर पनि मनले खोजिरहेको थियो । गिडिदह जाने टोलीमा रहनुभएका देवीप्रसाद सिंखडाको विचारमा त्यो दह पुग्न घनघोर जङ्गल र बाटो समेत नभएको ठाउँ भएकाले महिला जान हुँदैन भनिएको हुनसक्छ । “एक त बाटो थिएन, अर्को कुरा धार्मिक परम्परा अनुसार पनि महिला त्यहाँ पुग्दा भूतप्रेतले खान्छ भन्ने मान्यताले महिलाहरू डराए होलान्,” भ्रमणको सफलतापछि उहाँ भन्नुहुन्छ, “तर त्यो भ्रम र अन्धविश्वास रहेछ । महिला भएकै कारणले कुनै ठाउँमा जान नहुने भन्ने छैन ।”
वरिपरि चारैतिर पहाड अनि घनाजङ्गलको बिचमा गिडिदह रहेछ । दहको पानी निकास हुने ठाउँलाई पार गरेर पारी गइसकेपछि मात्र बास बस्न मिल्ने ठाउँ भेटिने रहेछ । बाटो बनाउने टोलीका सदस्यहरूले झुलो र भोजपत्रका रुख काट्थे । त्यसलाई पानीले नबगाउने गरी डोरीले बाँधेर अड्काएका हुन्थे । उनीहरूले यसरी हामीलाई गिडिदह ताल पुग्ने व्यवस्था गरेका थिए ।
गिडिदह पुगेर फर्किनुभएकी गाउँपालिकाकी उपाध्यक्ष रावल कुनै जात वा लिङ्ग भएकै कारण कुनै पनि ठाउँमा जान हुँदैन भनेर बन्देज गरिनुलाई दुःखद मान्नुहुन्छ । उहाँको विचारमा धर्म, प्रथा, परम्परा र किंवदन्तीसँग जोडेर अन्धविश्वास फैलाई मनोवैज्ञानिक त्रास देखाएर कुनै पनि ठाउँमा महिलाको प्रवेशमा रोक लगाउनु हुँदैन । अहिले महिलालाई यस्तो गर्नु भनेको संविधान र कानुन विपरीतको कार्य पनि हुन आउँछ । “म एउटा युद्ध लडेर आएको व्यक्ति हुँ । यस्ता कुरामा विश्वास गर्दिनँ,” भन्दै रावलले थप्नुभयो, “ग्रामीण भेग र दूरदराजमा चेतनाको अभावमा धर्म, प्रथा र परम्पराको नाममा जरा गाडेका अन्धविश्वास र महिला विभेदी चलनको अन्त्य गर्नुपर्छ ।”
गिडिदह पुगेर फर्किनुभएकी एमाले नेता तथा तातोपानी गाउँपालिका वडा नम्बर ५ की नारायणी चौलागाईंको विचारमा कुनै पनि ठाउँमा महिला पुगे अशुभ हुन्छ भन्नु अन्धविश्वास हो । “गिडिदह मात्रै नभई जुम्लाका अरू पनि धार्मिकस्थल र विभिन्न ठाउँमा महिला जान हुन्न भन्ने गरिन्छ, त्यो महिलालाई घरबाहिर हिँड्न हुँदैन भनेर हिँडडुलमा वञ्चित गराउन खोजिएको हो,” यसैले उहाँ भन्नुहुन्छ, “ अन्धविश्वास, कुसंस्कारलाई चिर्न हामीले आफैँबाट सुरु गर्नुपर्छ ।”
साथै, महिलाहरू महिनावारी हुने र ‘छाउपडी प्रथा’ चलाइएका कारणले पनि यस्ता धार्मिक मानिने ठाउँहरूमा महिलाको प्रवेश निषेध गर्ने गरिएको विचार महिला मानव अधिकारकर्मीहरूको छ । यस्ता ठाउँमा महिला जाँदा ‘भूतप्रेत’ लाग्छ भन्ने अन्धविश्वास पनि छ । भ्रमण टोलीमै संलग्न पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही पनि महिलालाई यस्ता ठाउँमा प्रवेश नगराउनाको पछाडि महिनावारीलाई नै कारण मानिएको हुनसक्ने बताउनुहुन्छ । त्यसो त उहाँको विचारमा महिलालाई कुनै पनि आधारमा विभेद गर्नु संविधान र कानुनको उल्लङ्घन तथा मानवअधिकारको हनन हो । “यसखाले विभेद अन्त्य गर्नु र महिलाको मानवअधिकारको रक्षा गर्नु सबैको दायित्व हो,” यसो भन्दै उहाँ थप्नुहुन्छ, “तीन जना महिला सहितको हाम्रो टोली असोजमा गिडिदह पुगेर सकुशल फर्कियो । यो कदम अन्धविश्वास तोड्ने हाम्रो उदाहरणीय प्रयास पनि हो ।”
यात्रा अनुभव
जुम्लाबाट हिँडेको दुई दिनमा गिडिदह पुगियो । पहिलो दिन १० बजे बाट जुम्ला बजारबाट तातोपानी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय हाँकुगाउँ हुँदै हाम्रो पैदल यात्रा सुरु भएको थियो । त्यो दिन गिडिखोला, भाडु, रातामाटा हुँदै फल्चाउले पुगेर बास बसियो । त्यहाँ त्रिपाल टाँगेर टोलीका सबैलाई बास बस्ने व्यवस्था गरियो । सबैलाई एकेक वटा स्लिपिङ ब्याग दिइएको थियो । ओड्ने र ओछ्याउने दुबै त्यही हो । टोलीका सबै पुरुषहरू त्यही त्रिपालभित्रै बास बसे । हामी तीन जना महिलालाई चाहिँ राति चिसो होला कि भन्ने डर लाग्यो । त्यही ठाउँ नजिकै जडीबुडी खोज्न गएका देवीप्रसादले त्रिपाल टाँगेर अलि न्यानो खालको बस्ने ठाउँ बनाउनुभएको रहेछ । यसैले हामी तीनै जना महिला सोही ठाउँमा बास बस्न गयौँ ।
भोलिपल्ट ७ बजेतिर मौलाहाल्न, तामाचौर, ऐरीजाल, गैरीगुम हुँदै गिडिदह पुगियो । गिडिदहको पानी निकास भइरहने ठाउँ हुँदै तालमा जानुपर्ने रहेछ । हिँड्नलाई बाटो सजिलो थिएन । पाटनमा हिँड्ने बाटोको निशाना भए पनि पाटन सकिएपछि दुई घण्टा जङ्गलको यात्रा गर्नुुपर्ने रहेछ । तालमा जाने बाटाको कुनै नामोनिसान नै थिएन । खाना पकाउने र हिँड्नको लागि बाटो बनाउने टोलीले झाडी काट्दै र फाँड्दै अघि बढेको थियो । ठाउँ ठाउँमा टिनको साङ्केतिक सूचना प्लेट रुखमा झुन्ड्याएर राखिएका रहेछन् । हामी सबै यात्रुले ‘गिडिदह जाने बाटो’ भनेर लेखिएका र रुखमा झुन्ड्याइएका तिनै साङ्केतिक सूचना प्लेट हेरेरै गन्तव्यतिरको यात्रा गर्न सफल भएका थियौँ ।
मनमा लाग्यो, गिडिदहको गहिराइ, चौडाइ र लम्बाइ कति होला ? तर, गिडिदहको गहिराइ र क्षेत्रफल नापिएको रहेनछ भन्ने थाहा भयो । यो समुद्री सतहबाट तीन हजार ४८२ मिटर उचाइमा घना जङ्गलको बिचमा लुकेर रहेको रहेछ ।
वरिपरि चारैतिर पहाड अनि घनाजङ्गलको बिचमा गिडिदह रहेछ । दहको पानी निकास हुने ठाउँलाई पार गरेर पारी गइसकेपछि मात्र बास बस्न मिल्ने ठाउँ भेटिने रहेछ । बाटो बनाउने टोलीका सदस्यहरूले झुलो र भोजपत्रका रुख काट्थे । त्यसलाई पानीले नबगाउने गरी डोरीले बाँधेर अड्काएका हुन्थे । उनीहरूले यसरी हामीलाई गिडिदह ताल पुग्ने व्यवस्था गरेका थिए । त्यहाँ नपुग्दासम्म गोडा फतक्क गलेर दुःखेका थिए । शरीर लखतरान भएर थाकेको थियो । त्यहाँ पुगेपछि भने बाटामा पाएका दुःख जति सबै बिर्सिंदो रहेछ । चारैतिर हेरौँ हेरौँ जस्तो लाग्यो । त्यहाँको रमणीय दृश्यले सबै थकान पनि मेटिदियो । निकै निलो र गहिरो देखिने गिडिदहलाई जति हेरे पनि आँखा थाकेनन् । दहलाई सबैतिरबाट हेर्ने मन थियो तर सबैतिर घुम्न मिल्ने बाटो नै रहेनछ । एक ठाउँबाट जति देख्न सकिन्थ्यो त्यति हेरेर चित्त बुझाइयो । खासमा वरिपरि घुमेर सबैतिरबाट तालको रङ फेरिएको दृश्य हेर्न मन थियो । त्यो धोको पूरा नभए पनि त्यतिबेला गिडिदह पुग्नसकेको घटनाले नै मन साह्रै रमाएको थियो । हामी सबै खुसी थियौँ ।
सोही ठाउँका वडाध्यक्ष अमरबहादुर रोकायाका अनुसार, गिडिदह ताल वरपरको जङ्गल क्षेत्रभित्र झन्डै दुई दर्जन प्रजातिका वन्यजन्तु र विभिन्न लोपोन्मुख पंछीहरू पनि पाइन्छन् । तालको दक्षिणपूर्वी क्षेत्रमा शङ्ख दह, पाले दह, जोगिनी दहलगायत नाम गरेका अन्य प्राकृतिक तालहरू पनि छन् । गिडिदह वरपर अन्य दहहरू, धार्मिक स्थल, जडिबुटी, वनस्पति, जनावर तथा पंक्षीको बासस्थान पनि रहेको पाइन्छ । ताल वरपरको जङ्गलभित्रको चराको चिर्बिर मात्र होइन, वन्यजन्तुको विभिन्न आवाजले पनि पर्यटकलाई रोमाञ्चक अनुभूति प्रदान गर्नसक्ने उहाँको भनाइ छ ।
मनमा लाग्यो, गिडिदहको गहिराइ, चौडाइ र लम्बाइ कति होला ? तर, गिडिदहको गहिराइ र क्षेत्रफल नापिएको रहेनछ भन्ने थाहा भयो । यो समुद्री सतहबाट तीन हजार ४८२ मिटर उचाइमा घना जङ्गलको बिचमा लुकेर रहेको रहेछ । त्यो दहको वरिपरि सबैतिर पहाड र जङ्गल छ । पहाडको खोँचमा रहेको तालको वरिपरि उच्चपहाडी भेगमा पाइने कोणधारी जङ्गल छ । लाग्यो, यस्तो जङ्गलले ढाकिएको सुन्दर तालसम्म पुग्ने सहज बाटो भइदिएको भए ? महिलाले जान हुँदैन भनेर कल्ले भन्थ्यो होला र ? अहिलेसम्म एउटा गोरेटो बाटो पनि किन बन्न नसकेको होला ? यसअघि के गरेर बसेको थियो होला यहाँको स्थानीय सरकार ? प्रकृतिले सित्तैमा दिएको मालसँगै चाल पनि पाउने कहिले होला हामीले ? गिडिदहमा पुगिसकेपछि मनमा घरिघरि यस्ता कुरा पनि खेलिरहे ।
गिडिदह घोषणापत्र
गिडिदह सम्मेलनबाट तातोपानी गाउँपालिकाले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ । तातोपानी गाउँपालिकाले फल्चाउले पाटन हुँदै गिडिदहसम्म ‘ट्रेकिङ रुट’ पु¥याएर ताललाई पर्यटकीय स्थल बनाउने योजना बनाएको छ । गिडिदहमा प्रस्तुत गरिएको घोषणापत्रमा तालको विकासका लागि विस्तृत डिपिआर बनाएर कार्यक्रम अगाडि बढाउने, सो क्षेत्रका अन्य दह, धार्मिक क्षेत्र, जडिबुटी, वनस्पति, पाटन, जनावर तथा पंक्षीहरूबारे प्रचारप्रसार गर्ने योजना रहेको उल्लेख छ । गिडिदहमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति तथा गुरुयोजना बनाउन पनि यो भ्रमणले सहयोग पुग्ने पालिकाको विश्वास छ । गिडिदहलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पूर्वाधार विकास गर्न प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गर्ने हेतुले पहिलो पटक गिडिदहमै स्थानीय सरकारको नेतृत्वमा हाम्रो टोली पुगेको विचार वडाध्यक्ष अमरबहादुरको छ ।
सोही गाउँपालिका अध्यक्ष तथा टोली नेता नन्दप्रसाद घना जङ्गलको बिचमा रहेको गिडिदहले सबैलाई मन्त्रमुग्ध बनाउने विचार राख्नुहुन्छ । उहाँको विचारमा गिडिदह अमूल्य सम्पत्ति हो । “गिडिदह र दहको वरिपरिको सुन्दरताले जोसुकैलाई पनि रोमाञ्चक बनाउँछ । यसको दक्षिणपूर्वी क्षेत्रमा शङ्खदह, पालेदह र जोगिनी दहसमेत रहेको छ,” उहाँ भन्नुहुन्छ, “हामीले सकेको लगानी गर्छौं, थप सहयोगका लागि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने छ ।” उहाँका अनुसार, रारा ताल आएका पर्यटकलाई गिडिदहसम्म ल्याउने योजना छ, सोहीअनुसार गिडिदहमा सम्मेलन नै गरेर घोषणापत्र जारी गरिएको हो । सिकारी, घोडा तथा भेडा पालक किसान, जडिबुटी खोज्नेहरूले सयौँं वर्षअघिदेखि सो ताल देखेको भए पनि पर्यटकीय दृष्टिले तालको सुन्दरता हेर्ने गरी यसअघि कोही पनि गिडिदह नपुगेको पनि उहाँ बताउनुहुन्छ ।
ऐतिहासिक महत्त्वको गिडिदह ताल प्रचारप्रसारको अभावले अहिलेसम्म ओझेलमा परे पनि यसको दिगो विकासको लागि सुझाव सङ्कलन गर्ने काम भइरहेको छ । वडाध्यक्ष अमरबहादुरका अनुसार, अहिले गिडिदह तालको लम्बाइ, चौडाइ र गहिराइ नाप्नका लागि राष्ट्रिय ताल समितिसँग सम्पर्क र समन्वयका लागि पहल भइरहेको छ ।
गोरेटोविनाको खोँचमा ताल
तातोपानी गाउँपालिका वडा नम्बर ४ को पूर्वतिर गिडिखोला छ । गिडिखोलाको पानीको मूलस्रोत नै गिडिदह ताल हो । अहिलेसम्म कतैतिरबाट पनि उक्त तालसम्म जाने बाटो बनेको देखिएन । त्यहाँसम्म पुग्ने रेखा कोरिएको गोरेटो बाटो पनि छैन । बाटाका बिचमा कतै पनि बास बस्ने ठाउँ बन्न सकेको छैन । यसैले बाहिरबाट एकाध मानिस बाहेक अरू गिडिदह पुगेको अनुमान अहिलेका जान्नेसुन्ने मानिसमा पनि छैन ।
बाटो नभएकै कारणले अहिलेसम्म कोही पनि पर्यटक गिडिदह पुग्न नसकेको अनुमान गर्न गाह्रो परेन । गोरेटोविनाको अप्ठेरो खोँचमा रहेको भए पनि कतिपय मानिसले त्यहाँ पुग्ने प्रयास आजभन्दा ५० वर्ष अगाडि नै गरेको दावी भने भेटिन्छ । स्थानीय अगुवा दुर्गाप्रसाद भन्नुहुन्छ, “भूगोलविद् हर्क गुरुङ समेत त्यहाँ पुग्न नसकेका हुन् ।” अहिले स्वर्गीय भइसक्नुभएका उहाँले २०३० सालतिर गिडिदह जाने प्रयास गर्नुभएको थियो । तर, बाक्लो हिमपातका कारण उहाँ गिडिदहसम्म पुग्न नसेकेको दुर्गाप्रसादको भनाइ छ ।
चलनचल्तीको भाषामा गिडिदह भनिए पनि यो दह नभएर तालको रूपमा रहेको छ । पर्यटकीय महत्त्वको यो प्राकृतिक तालबारे राष्ट्रियस्तरमा पनि प्रचारप्रसार हुनुपर्ने देखिन्छ । गिडिदहसँगै त्यस क्षेत्र वरपर रहेका अन्य दहहरू, धार्मिक स्थल, जडीबुटी, वनस्पति, जनावर तथा पंक्षीको अवस्थाका बारेमा प्रचारप्रसार गरी गिडिदह र यस क्षेत्रको महत्त्वलाई उजागर गर्नुपर्ने अवस्था छ ।
गिडिदह तालको दक्षिणपूर्वी क्षेत्रमा रहेका अन्य प्राकृतिक तालहरू पनि अझै दुर्गम अवस्थामा छन् । यस्तो अवस्थामा महिलाले त्यहाँ जान हुँदैन भनिए पनि अन्धविश्वासजन्य बन्देजको सामाजिक भाषालाई हामीले तोड्यौँ । तीन महिलासहित गाउँपालिका अध्यक्ष चौलागाईं नेतृत्वको भ्रमण टोलीले आफैँ बाटो पहिल्याएर गन्तव्यमा पुग्ने मात्रै काम गरेन, गिडिदह घोषणापत्र पनि जारी गरेर फर्कियो । ७५ जनाको यात्रा टोलीमा सहभागी हामी तीनै जना महिला गिडिदह पुगेर सकुशल फर्कियौँ । सात महिनासम्म पनि हामी सबै ठिक छौँ । यसैले मलाई लाग्छ, महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयासको रूपमा पनि अनुकरणीय र सफल रह्यो, हाम्रो स्थानीय टोलीको ऐतिहासिक गिडिदह भ्रमण !