जुम्ला ःजुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको दैनिक फोहोर नउठदा दुर्गन्धीत बन्दै छ । अस्पतालको फोहोर दैनिक उठाए बापत चन्दननाथ नगरपालिका जुम्लाले मासिक ६ हजार रुपियाँ उपलव्ध गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग सम्झौता गरिएको थियो । तर अस्पतालको हाताभित्र रहेको फोहोर चार महिनादेखि फोहोर नउठेका कारण दुगन्धीत बन्नथालेको हो।
त्यस्तै लामो समयदेखि फोहोर नउठेका कारण अस्पतालमा दुर्गन्ध फैलिने खतरा बढेको छ । अस्पतालभित्रको शव घर नजिकैको खाली जमिनमा खुला रुपमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिइरहेको हो ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको स्थानीय नवराज श्रेष्ठ बताउन्छन् । उनले भने फोहोर व्यवस्थापन नहुदा अस्पताल दुर्गन्धित भयो । फोहोर भएको स्थानमा चराचुरुगीहरूदेखि कुकुरहरूसमेत आउने गरेका छन् ।
अस्पताल निर्देशक डा. राजिव शाह चार महिना देखिको फोहोर उठ्न नसकेको बताइरहेका छन् । उनले भने, ‘फोहोर संकलन अस्पतालले गर्नुपर्ने हो । संकलित फोहोर नगरपालिकाले उठाउनु पर्ने हो तर चार महिनादेखि फोहोर जम्मा मात्रै भइरहेको छ । उठ्न सकेको छैन ।’
फोहोर उठाउनका लागि नगरपालिकासँग सम्झौता भएको छ । १५ देखि २० वटा ट्याक्टर भरिने गरी अस्पतालको हाताभित्रै फोहोर थुप्रिएको उनको भनाइ छ ।
अस्पतालमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नसमेत चन्दननाथ नगरपालिकालाई अस्पताल प्रशासनले आग्रह गरेको छ । पटक–पटक फोहोर उठाउन नगरपालिकासँग समन्वय भइरहेको छ । तर नगरपालिकाले फोहोर उठाउन मानिरहेको छैन ।फोहोरका कारण ओपीडीमा उपचार गर्न आउने बिरामीदेखि अस्पताल हुँदै ओहोरदोहोर गर्ने नागरिकहरू प्रभावित हुने गरेका छन् ।
नगरपालिकालाई सदरमुकाम खलंगा बजारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न मुस्किल परेको छ । अस्पतालको फोहोर उठाउनेतिर ध्यान नै गइरहेको छैन ।
नगरपालिकाले फोहोर नउठाइदिएपछि तत्कालका लागि चेरेचौरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा खाडल खनेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा समेत छलफल भइरहेको छ । आगामी दिनमा नगरपालिकासँग बसेर फोहोर उठाउनेबारे गहन छलफल अघि बढाउनेसमेत अस्पतालले योजना बनाइरहेको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले प्रतिष्ठानको फोहोर नउठ्नुमा धेरै कारण भएको बताए । उनले भने नगरपालिकासँग कुनै समन्वय सहकार्य छैन । बैठकमा पनि नगरपालिकालाई कहिल्यै बोलाईदैन । प्रतिष्ठान पाटीकरण भैसक्यो । त्यहाँ धेरै समस्या छन् । नगरप्रमुख सिनेटको सदस्य पनि हो । सिनेट वैठकमा पनि बोलाउने गरिएको छैन । रायसंलाह सुझाब पनि लिने गरिएको छैन ।