नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईमाथि जित हासिल गरेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिएका हुन्। नेपालले डिएल मेथडबाट ९ रनले युएईलाई पराजित गरेको हो।

‘आइसिसी क्रिकेट विश्वकप लिग(२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई,’ उनले लेखेका छन्।

बिहीबार त्रिवि मैदानमा भएको आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट लिग २ को अन्तिम खेलमा युएईले टस जितेको थियो। टस जितेर ब्याटिङ रोजेको युएईले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

युएईले दिएको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा ४१ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा २३५ रन जोडेको थियो।

ब्याटिङमा गुल्सन झा २५ रन र दिपेन्द्रसिंह ऐरी ४ रनमा बनाएर खेलिरहेका थिए। हजारौं दर्शक ओइरिएको त्रिवि मैदानमा त्यतिबेला बादल लागेका कारण धुम्म भएको अवस्था थियो।

विश्वकप छनोटमा पुग्न जित्नै पर्ने खेलमा नेपाल डिएल मेथडमा पनि पछि परेको थियो। त्यसैले नेपालका लगि जतिसक्दो छिटो रन बनाउनु पर्ने अवस्था थियो। त्यतिबेला युएईका कप्तान मोहमद वासिम बलिङमा आए। आफ्नो ओभर बलिङ गरेका वासिमविरूद्ध गुल्सनले पहिलो ओभरमा रन लिएनन्। दोस्रो ओभरमा दुई लिएका गुल्सन त्यसपछि भने आक्रामक रूपमा प्रस्तुत भए।

उनले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो, पाँचौ र छैटौं बलमा चौका प्रहार गर्दा नेपालले एकै ओभरमा २० रन जोड्न सफल भयो। २० रन जोडेसँगै नेपाललाई राहत मिल्दा डिएल मेथडमा अघि रहेको थियो। तर युएईलाई त्यही ओभरमा महँगो सावित भयो। किनभने दुई ओभरपछि खेल प्रकाशका कारण रोकियो।

४३ ओभरमा ६ रन र ४४ ओभरमा ८ रन जोड्दा नेपालले ६ विकेटको क्षतिमा २६९ रन जोडेको थियो। त्यतिबेला त्रिवि मैदानमा खेल्न पुग्ने प्रकाश नहुँदा अम्पायरले खेल रोके। जसको फाइदा नेपाललाई भयो।

सम्बन्धित समाचार