स्याउका बिरुवामा किरा लागेपछि जुम्लाका किसान चिन्तित

जुम्ला : स्याउका बिरुवामा किरा लाग्दा किसान चिन्तित बनेका छन् । मुख्य आम्दानीको स्रोत नै स्याउ भएकाले किसान उत्पादन कम हुने चिन्तामा परेका हुन्।

तिला गाउँपालिका–२ दलबहादुर रावतले रोग किराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको जानकारी दिए। ‘स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ’, उनले भने, ‘त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ।’

बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले किराको प्रकोप देखिएको थियो। तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको उनले बताए।
‘वर्षैपिच्छे कुनै न कुनै रोग किराको सङ्क्रमण भइरहेको हुन्छ’, उनले भने, ‘त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ।’

जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा सो समस्या देखापरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन्। जुम्ली स्याउमा बर्सेनि रोग किराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका पूर्णप्रसाद चौलागााईँले जानकारी दिए।

बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग किराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए।

जिल्लाभरि चार हजार २५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

सम्बन्धित समाचार