यूएईले स्लो बलिङ गर्दा नेपालले जित्यो
काठमाडौं । आईसीसी विश्वकप छनोटमा प्रवेश गर्न बिहीबार नेपालले यूएईलाई हराउनै पर्ने खेलमा नेपालले ३११ रनको विशला लक्ष्य पाएको थियो ।
बलिङमा यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहेका थिए । उनी वर्षा कुरिरहेका थिए । वर्षा भए जित्ने रणनीति उनले बनाएका थिए । र उनी ४२ औँ ओभरमा आफैँ बलिङ गर्न आए । बलिङ गर्न आउँदा पनि उनले समय लिएका थिए ।
वसिमले ४२ औँ ओभर बलिङ गर्दा स्ट्राइकमा गुल्सन झा थिए । उनी त्यतिबेला ३६ बलम २५ रन बनाएर खेलिरहेका थिए । वसिमको पहिलो बलमा झाले रन बनाउन सकेनन् । त्यसपछि भने उनी रोकिएनन् । उनले वसिमको दोस्रो बलमा दुई रन लिए । तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन चौका हाने । वसिमले खेलमा एक मात्र ओभर बलिङ गरेका थिए ।
झाले वसिमको एकै ओभरमा २० रन जोडे । ४२ ओभरको खेल सकिँदा नेपालले ६ विकेटमा २५५ रन बनायो । यसै ओभरले नेपाललाई डीएल मेथडमा अगाडि ल्यायो । खेल ४४ ओभरमा समाप्त हुँदा नेपाल ९ रनले अगाडि भयो । र नेपालले ऐतिहासिक जितका साथ जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने पक्का गर्यो ।
तर आज काठमाडौंको मौसम खराब रहँदा पूरै खेल हुने सम्भावना कम थियो । विशाल लक्ष्य पछ्याएको नेपालले सुरुमै लगातार तीन विकेट गुमाएको थियो ।
तर नेपाली ब्याटरले त्यो दबाब नलिई आवश्यक रन रेटमै रन बनाउँदै गए । तर खेल जब नजिक नजिक पुग्यो कीर्तिपुरको आकाशमाथि बादल मडारिरहेको थियो । समय पनि घर्किँदै थियो । नेपालले ४१ ओभरको समाप्तीमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपाललाई जितका लागि अझै ९ ओभरमा ७६ रन आवश्यक थियो । पानीका थोपा परिसकेका थिए । यतिबेला खेल रोकिँदा नेपाल पराजित हुने निश्चित थियो ।