ओलीको पुस २६ को सम्बोधनबाटै तर्सिएका थिए प्रचण्ड

काठमाडौं । राष्ट्रपतिको चुनावलाई लिएर सत्ता गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी केन्द्रबीच कुरा मिलेको छैन ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक धुब्रीकरण पनि तीव्र रूपमा भइरहेको छ । माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने भनिरहेको छ भने एमाले पूर्वसहमति अनुसार नै राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा छ । तर, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपासँग पनि राष्ट्रपतिको चुनावबारे घनिभूत रूपमा छलफल गरिरहेको छ । राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई नसघाउने संकेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएसँगै अध्यक्ष केपी ओलीले नेकपा एसका अध्यक्ष माधव नेपालको नाम अघि सारेका थिए । तर, नेपालको नामबारे पनि प्रधानमन्त्री प्रचण्डले ग्रिन सिग्नल नदिएपछि एमाले थप सशंकित बनेको छ ।

बुधबार पुरानो गठबन्धनका दल कांग्रेस र एकीकृत समाजवादीसँग बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । उक्त छलफलमा पुरानै गठबन्धन ब्युताउने अनौपचारिक सहमति पनि भएको नेताहरूले दाबी गरेका छन् । माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाएपछि अहिलेको सत्ता गठबन्धन राष्ट्रपतिको उम्मेदवारी दर्ताकै दिन टुट्ने देखिएको छ ।

सत्ता गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा बिहीबार बिहान आयोजित कार्यक्रममा सरकारले फागुन १ गते जनयुद्ध दिवसु का नाममा दिएको सार्वजनिक बिदाबारे कडा आलोचना गरेका छन् । सत्ता गठबन्धन भत्किने दिशामा राजनीतिक कोर्ष अघि बढेपछि अध्यक्ष ओलीले फागुन १ गतेलाई ुजनयुद्ध दिवसु नभनेर हिंसा दिवस भनेर मनाउनुपर्ने बताएका छन् । सार्वजनिक बिदा दिएको ११ दिनपछि एमाले अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुलाई सत्ता गठबन्धन फुटको संघारमा पुगेको रूपमा हेर्नुपर्ने एमालेकै कतिपय नेताहरू बताउँछन् ।

ओलीको सम्बोधनबाट झस्केका प्रचण्ड

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डले २६ पुसमा संसदमा विश्वासको मत लिए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दलीय आधारमा शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले आफूले दुई पटक गरेको संसद विघटन ठीक थियो भन्ने तर्क पेस गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै ओलीले भनेका थिए, ुगुरूजी, आफूले कति पटक संसद विघटन गरियो । मेरा मित्रलाई म भन्न चाहन्छु २०५८ साल असारमा संसद विघटन गरेको तपाईंले होइन रुु ‌

ओलीको त्यस्तो अभिव्यक्तिप्रति सबैभन्दा बढी रुष्ट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल देखिएका थिए । नेपालले संसद विघटन गर्न पाइने भन्दै एमाले अध्यक्ष ओलीको भनाइबारे सत्ता गठबन्धनको धारणा नै बैठकमा मागेका थिए । प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा मुख नखोले पनि आफूनिकट नेताहरूसँग त्यही दिनबाट ओलीप्रति आशंका जनाएका थिए । प्रचण्डको भनाइ भन्दै माओवादीका एक नेताले भने, ‘अहिले पनि संसद विघटन ठीक थियो भन्दै संसदमा भाषण गर्नेले प्रधानमन्त्री, राष्ट्रपति र सभामुख पाएपछि के गर्लान् सोचौँ त रु मैले त घुमाउरो पाराले संसद विघटन गर्नु गलत थियो भन्लान सोचेको थिएँ । अझै ठीक भन्दै बस्छन् । अब त सोच्नु पर्ने भयो ।’

त्यसपछि प्रधानमन्त्री प्रचण्डले सहमतिमा राष्ट्रपति चयन गर्ने भन्न थालेका हुन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नबनाएपछि एमालेसँग पाँच वर्षसम्म मिल्ने गरी तयारी गरेको माओवादीले प्रधानमन्त्री पाएको १६ दिनमै कांग्रेससँग मित्रता बढाउनुमा ओलीको अभिव्यक्तिले काम गरेको माओवादीका नेताको भनाइ छ । ओलीले संसद विघटन ठीक थियो भन्दै संसदको हुर्मत लिन थालेपछि माओवादी राष्ट्रपतिबारेमा सोच्न बाध्य भएको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

 

सम्बन्धित समाचार