काठमाडौं । राजनीतिमा विकल्प बिहिन केहि कुरा हुदैन । सकियो भत्कीयो भनेका सम्बन्धहरु पनि पुन मिल्ने गरेका छन् । त्यहि भएर अहिलेपनि सत्तागठबन्धन भत्कने भन्दा पनि नयाँ नयाँ विकल्पमा छलफल भइरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बुझिएको छ ।
माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आशय देखाएको छ । माओवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २६ पुसमा गरेको सम्बोधनबाट झस्केको छ । सरकारले विश्वासको मत लिएको दिन अध्यक्ष ओलीले आफूले दुईपटक गरेको संसद विघटन ठीक थियो भनेपछि प्रधानमन्त्री प्रचण्ड झस्केका थिए । साढे दुई वर्षपछि पुनस् ओली त्यही विघटनको बाटोमा जान सक्ने भन्दै प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेको बताइन्छ ।
आफूलाई पाँच वर्षका लागि नै प्रधानमन्त्री हुने लिखित सम्झौता ओलीले गरे प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार रहेको माओवादीका एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘पाँच वर्ष प्रचण्ड नै प्रधानमन्त्री हुने लिखित सम्झौता गरे एमालेलाई राष्ट्रपति दिने कुरा हुन्छ । नत्र हुँदैन । सभामुख, राष्ट्रपति र प्रधानमन्त्री एमालेको हुने गरी अब गठबन्धनसँगै जाँदैन । प्रधानमन्त्री पाँच वर्ष प्रचण्ड हुने सुनिश्चितता चाहियो ।’
एमालेको सभामुख र राष्ट्रपति भए पनि माओवादी आफू पाँच वर्ष प्रधानमन्त्री हुने र वाम गठबन्धन निरन्तर अगाडि बढाउने विकल्पमा पनि छलफल गर्ने तयारीमा माओवादी रहेको स्रोतले बतायो ।
कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नबनाएपछि एमालेसँग पाँच वर्षसम्म मिल्ने गरी तयारी गरेको माओवादीले प्रधानमन्त्री पाएको १६ दिनमा नै कांग्रेससँग मित्रता बढाउनुमा ओलीको अभिव्यक्तिले काम गरेको माओवादीका नेताको भनाइ छ । उक्त भनाइ आफू प्रधानमन्त्री हुँदा पनि ओली लागू गर्ने योजनामा रहेको आशंका माओवादीलगायत सबै राजनीति दलहरूको रहेको माओवादीका एक नेता बताउँछन् ।
माओवादीले अहिले आफूले सरकार पाँच बर्ष नै चलाउने सुनिश्चिता खोजेको देखिन्छ । यसमा शक्ति बाँडफाँट पनि हुने र वामपन्थी गठबन्धन पनि टिकिरहने रणनीतिमा छ । यसका लागि अहिले पनि प्रचण्डले एमालेमाथि दबाब बनाइरहेका छन् । त्यही भएर प्रचण्डले आज पनि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत दलहरूसँग छलफल गरिरहेका छन् ।
उता कांग्रेस पनि आफ्नो पोल्टामा ढोक्सा पर्नेमा ढुक्क छ । तर, माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् ।
सबैतिरबाट यो सुनिश्चिता बन्द भए मात्र माओवादी केन्द्रले कांग्रेस अथवा नेकपा एसलाई समर्थन गर्नेछ । अहिले नै नेकपा एसका अध्यक्ष नेपाललाई पनि माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने अवस्था नरहेको एक नेता बताउँछन् ।
बरु अन्तिममा तीन वर्ष प्रचण्ड र एक एक वर्ष कांग्रेस र नेकपा एसलाई प्रधानमन्त्री दिएर जान प्रचण्ड तयार छन् । तर, नेपाललाई राष्ट्रपति बनाउन तयार छैनन् । नेपाल राष्ट्रपति भएपछि नेकपा एस र एमाले एकता हुँदा एमाले ठूलो दल बन्नेछ । त्यसपछि एमालेले विश्वासको मत फिर्ता लिने सम्भावना रहन्छ । उसँगै रास्वपा र राप्रपा, जसपाले पनि विश्वासको मत फिर्ता लिने र ठूलो दलको हैसियतले ओली प्रधामन्त्री हुने दाउमा रहेको माओवादीको बुझाइ छ ।
त्यही भएर पनि जसरी हुन्छ ओलीलाई प्रधानमन्त्री हुन रोक्ने र आफू पाँच वर्ष प्रधानमन्त्री हुने दाउमा प्रचण्ड छन् । अहिले कांग्रेसलाई राष्ट्रपति नदिएमा माओवादी–कांग्रेस सम्बन्ध पनि बिग्रनेछ । त्यो अवस्थामा ओलीले विश्वासको मत फिर्ता लिए कांग्रेसले पनि विश्वासको मत दिने छैन । त्यही भएर सबै शक्ति एमालेलाई बुझाउन माओवादी तयार छैन । पाँच वर्षका लागि प्रधानमन्त्री पाए एमालेलाई राष्ट्रपति दिन अझै माओवादी तयार रहेको एक पदाधिकारी बताउँछन् ।