जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको गुठीचौर गाउँपालिका पहिलो बनेको हो ।
बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा जुम्लाका स्थानीय तहमध्ये गुठिचौर गाउँपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०÷८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन भएको छ ।
त्यस्तै आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलकाअनुसार प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको पाइएको छ। अधिकांश स्थानीय तहको अंक ५० प्रतिशत कटेको पाइएको छ । गुठिचौरले ५४.३६ प्रतिशत अंक पाएको छ ।
सिंजा गाउँपालिकाले ५२.३२, चन्दननाथ नगरपालिकाले ५०.९१, हिमा गाउँपालिकाले ४९.३०, तिला गाउँपालिकाले ४७.५९, तातोपानी गाउँपालिकाले ४५.६७, पातारासि गाउँपालिकाले ४४.८४ र कनकासुन्दरी गाउँपालिकाले ४२.९७ प्रतिशत अंक पाएका छन् । गुठीचौर गाउँपालिका अघिल्लो कार्यकालमा पनि प्रथम बनेको थियो ।