काठमाडौं । राष्ट्रपति चुनावको विषयलाई लिएर नेताहरूबीच लगातार छलफल चलिरहेका बेला प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच भेट वार्ता भएको हो ।
बिहीबार भने दुई नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटेवार्ता भएको थियो । यसअघि पनि यी नेताहरूबीच राष्ट्रपति चुनावको विषयलाई लिएर पटकपटक छलफल भइसकेको छ । तर अहिलेसम्म परिणाम शुन्य नै छ । अहिलेसम्म कुन व्यक्तिलाई राष्ट्रपति बनाउने भनेर सहमति भएको छैन ।
तर, शुक्रबारसम्म आइपुग्दा सत्ता गठबन्धनमा राष्ट्रपतिको विषयलाई लिएर कुनै सहमति जुटिसकेको छैन । यही १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसअघि नै भावी राष्ट्रपतिको टुंगो लगाउनुपर्ने दबाबमा सत्ता गठबन्धन र विपक्षी दलहरू छन् । तर, शुक्रबारसम्म कुनै सिन क्लियर भएको छैन ।
१० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा राष्ट्रपति एमालेले लिने सहमति भएको एमाले नेताहरूको दाबी छ । तर, २६ पुसमा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि परिदृष्य बदलिएको छ । त्यसपछि माओवादीको स्वरमा परिवर्तन आएको हो । जुन अहिले राष्ट्रिय सहमतिमा राष्ट्रपतिसम्म आइपुगेको छ ।
शुक्रबार बालकोटमा एमाले अध्यक्ष ओलीले १० पुसकै सहमतिबाट दायाँबायाँ गर्न नसकिने अडान प्रचण्ड सामु स्पष्ट रुपमा राखेका छन् । ओली निकट स्रोतका अनुसार शुक्रबार ओलीले प्रचण्डलाई भनेका छन्, ‘राष्ट्रपतिका विषयमा यसअघिको सहमतिबाट दायाँ बायाँ हुँदैन । गठबन्धनमा पनि टुट्दैन । तर, यो गठबन्धन तोड्ने कि सहमति पालना गर्ने तपाईँ नै रोज्नुहोस् ।’
ओली प्रचण्ड सामु स्पष्ट रुपमा एमालेको अडान राखेपछि प्रचण्ड दबाबमा परेको जस्तो देखिएको एक नेताले बताए । उनका अनुसार प्रचण्डले जवाफमा ओलीलाई भनेका छन्, ‘म सबै मिलाउँछु । सहमतिबाट भागेको छैन ।’ तर प्रचण्डले माओवादीले के गर्छ भन्ने स्पष्ट जवाफ भने ओलीलाई दिएनन् ।
राष्ट्रपति चुनावमा प्रदेशसभा सांसद र संघीय संसद्का सांसदले मतदान गर्छन् । त्यसअनुसार माओवादी केन्द्र राष्ट्रपति चुनावका लागि निर्णायक शक्ति हो । उसले आफ्नो उम्मेदवारलाई जिताउन सक्ने सामर्थ्य नराखे पनि समर्थन गरेको उम्मेवारलाई जिताउन सक्ने सामर्थ्य राख्छ । त्यसैले अहिले माओवादी एमाले र कांग्रेस दुवैको तानातानमा छ ।