जुम्ला : जातीय विभेद बिरुद्ध कनकासुन्दरी गाउँपालिकाका महिलाहरू एक जुट हुन थालेका छन्।समाजमा रहेको जातिय बिरुद्ध कनका सुन्दरी गाउँपालिकामा दलित महिला एक जुट हुन थालेका हुन । पालिका स्तरमा सञ्जाल गठन गरेर समाजमा कुप्रथा मानिने जातीय विभेद लगायतका विकृतिका बारेमा आवाज उठाउने छन ।
दलित महिलाहरू गाउँमा जातीय विभेदका कारण भोग्नु पर्ने कानुनी जटिलताका बारेमा सहजीकरण गर्ने, बालविवाह, बहुविवाह, छुई प्रथा, दाइजो प्रथा जस्ता कुरीति र कुसंस्कार अन्त्य गर्न अभियान चलाउँदै आइरहेको दलित सञ्जाल कनकासुन्दरीका अध्यक्ष तारा नेपालीले बताइन्। उनका अनुसार समाजमा हुने भ्रष्टाचारका बारेमा पनि वकालत गर्ने गर्दछन्। अहिले महिला सञ्जालले जागरण अभियान चलाएपछि धारा पधेरा, सामाजिक काम र विकासे काममा सहजै रूपमा जान सकिने अवस्थाको सिर्जन भएको छ । नेपाल्ीले भनिन,’अहिले विगत भन्दा गाउँमा धेरै परिवर्तन देखिन्छ।
बालविवाह रोकथाममा टेवा
कनका सुन्दरीमा संजाल गठन भएदेखि बालविवाहका दर्जनौँ जोडी रोकिएको छ। दलित बालबालिकाले अहिले सहजै रूपमा स्कुल जान पाउँछन्। पहिले स्कुल गए पनि गैर दलित बालबालिकालाई हेपिने, होच्याउने गरिन्थ्यो,अहिले रहर मानेर बालबालिका स्कुल जाने वातावरण सृजना भएको स्थानीय राजु नेपालीले बताइन । उनका अनुसार कनकासुन्दरी गाउँपालिका ६ मा बालविवाह गरेका जोडीलाई बोलाएर प्रशिक्षण दिएर आ–आफ्नो घरमा पठाएका छन्।
छुई हुँदा घरको सुरक्षित कोठामा बस्ने, पोषिला खाने कुरा खाने, आराम गर्ने, नियमित प्याड प्रयोग गर्ने, सरसफाइ गर्ने ,गाउँमा मदिरा सेवन गर्न नदिने र मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई कारबाही गर्ने, अटेर गरेको खण्डमा प्रहरीको बुझाउने गरिएको स्थानीय नेपालीले बताइन्। पहिले दलित भनेर घृणा गर्ने, तिरस्कार गर्ने, दलितले छोएको भन्दै छिटा हाल्ने चलन थियो। त्यो चलन अहिले छैन । बरु दलित र गैर दलित सँगै बसेर खाने बस्ने गरेका छन्।
गाउँपालिका स्तरीय दलित सञ्जालले गाउँपालिका भित्रका ८ वटै वडामा आफ्नो संगठन विस्तार गरेको छ। अहिले भवन बनाइएको छ। पहिलो वर्ष भवनको माग गरिएको थियो। गाउँमा विकृतिविरुद्ध सचेतना फैलाउनेदेखि कुरीतिविरुद्धका क्रियाकलापमा सहजै रूपमा सहभागी हुने अवस्था सिर्जना गरिएको दलित सञ्जालले जनाएको छ ।
त्यस्तै संजालले दलित र निमुखाको आवाज भएको कनका सुन्दरी गाउँपालिकाका ६का वडाअध्यक्ष प्रेम पछाईले बताए। उनका अनुसार दलित सञ्जालको सहयोगमा कनकासुन्दरी ६ गोरुचौरमा आफ्नो भवन निर्माण गरिएको छ। उक्त वडामा दलितको १ सय ५० घरधुरी संख्या छ। सबै कार्यक्रमहरू अहिले भवनमा हुने गरेका छन्। अन्य कार्यक्रम गर्दा १ हजार देखि १ हजार ५ सय लिने गरिन्छ। सोही भवन निर्माण कार्य लागि गाउँपालिकाको सरकारले १० लाख सहयोग गरेको थियो ।