काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पत्रकार सम्मेलन मार्फत सभापति रवि लामिछानेले जानकारी दिए । सरकारबाट बाहिरिएपछि समर्थन भने जारी राख्ने बताए ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृह मन्त्रालय नदिने बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाइपछि रास्वपा पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो ।
बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।
लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो सिधा कुरा गरे । सो क्रममा उनले मिडियाहरु स्वार्थ बाझिने खेलमा लागेको भन्दै चर्को आलोचना गरे । उनले मिडियाहरुको नामै किटेर चर्को आक्रोश समेत पोखेका हुन् ।
उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा अलिअलि झोँक पनि चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि । उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’
उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।
मन्त्रिपरिषद् १९ सदस्यीय
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आजको निर्णयानुसार शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि बाहिरिने भएका छन् । यसैगरी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि सरकारबाट बाहिरिने भएकी छन् ।
पार्टीको बैठकपछि सभापति लामिछानेले मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने जानकारी दिए । प्रधानमन्त्रीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा दुई मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी थियो । जसअनुसार वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयमा मात्रै नियुक्त गर्न बाँकी थियो । अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेको छ ।
रास्वपा सरकारबाट बाहिरिएसँगै अब मन्त्रिपरिषद् १९ सदस्यीय कायम हुने भएको छ ।