आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा लेखेका विषयमा छानबिन गर्न गृहले बनायो समिति

काठमाडौं । संसद भवन नजिक नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गर्नु अघि इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा लेखेका विषयमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबनि समिति गठन गरेको छ । बुधबार आचार्यको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ ।

बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपश्चात् कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर बुधबार अपराह्न नै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूलाई भेट गरी तपाईंहरूको समस्यामा सरकारसँगै रहेको र प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरेर समाधान खोज्ने प्रयत्न गर्ने बताएका थिए ।

सम्बन्धित समाचार