नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
‘राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गर्ने आवाज आएको छ।’ महराले भने, ‘यो हाम्रो कुरा हो, सबै दलसँग छलफल गर्छौं।’
एमालेलाई दिने सहमति गरेर अहिले यस्तो कुरा गर्दा एमालेलाई धाेका दिएको हुँदैन? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले थपे, ‘राष्ट्रिय सहमति एमाले, कांग्रेस सबै दलहरूसँग गर्ने भनिएको हो। एमाले बाहेकको होइन। हामीले एमालेलाई धोका दिएको होइन। राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने भनिएको हो।’
भएन भने के गर्ने ? भन्ने प्रश्नमा महराले भने, ‘यो हाम्रो कुरा हो सहमति नभए हुँदैन,’ उनले भने।
स्थायी कमिटीको अर्को बैठक माघ १६ गते पुन: बस्ने गरी सकिएको महराले जानकारी दिए।