काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय पाउने पक्का भएको छ । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको लन्च मिटिङमा माओवादीसहित सरकारमा सहभागी हुने दलले पाउने मन्त्रालयको भागवण्डामा सहमति जुटेको हो ।
सहमतिसँगै माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् । अब माओवादीले चार जनालाई मन्त्री बनाउने छ ।
माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने पक्का भएको छ । बाँकी तीन मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट दाङ २ बाट निर्वाचित सांसद रेखा शर्मा सञ्चारमन्त्री बन्ने लगभग पक्का भएको छ । तर, सञ्चार मन्त्रालयमा सुदन किराँतीले पनि दाबी गरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार माओवादी केन्द्रबाट अमनलाल मोदी र महिन्द्रराय यादव मन्त्री बन्नेछन् । सञ्चारमन्त्री रेखा हुने पक्काजस्तै छ । तर, किराँतीको पनि दाबी छ, एक नेताले भने, चार मन्त्रीमध्ये तीन जना माओवादी र एक जना बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाका महिन्द्रराय यादव बन्नेछन् ।
स्रोतका अनुसार सञ्चार मन्त्रालय नपाउने अवस्थामा किराँतीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइनेछ ।मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ ।