काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तीन जोडी (श्रीमान्–श्रीमती) सांसद भएका छन् भने तीन परिवारका सहोदर दाजु–बहिनी सांसद बनेका छन् । प्रतिनिधिसभामा एक जोडी प्रत्यक्ष चुनावबाट आएका हुन् भने प्रत्यक्ष निर्वाचित श्रीमान्लाई साथ दिन समानुपातिकतर्फबाट दुई जना श्रीमती सांसद भएर आउँदैछन् ।
श्रीमान्–श्रीमती सांसद
प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा पाँच वर्षसम्म सँगै संसद्मा हुनेछन् । देउवा डडेल्धुराबाट प्रत्यक्षमा निर्वाचित भएका हुन् भने आरजु समानुपातिकबाट सांसद बन्ने भएकी छिन् ।
यसैगरी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी–१ बाट प्रत्यक्षमा निर्वाचित भएका छन् । उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकबाट सांसद बन्दैछिन् ।
नेकपा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठको जोडी पनि दोस्रोपटक संसद्मा पुगेको छ । महासेठ परिवार भने प्रत्यक्ष निर्वाचित भएर आएको हो । यसरी संसद्मा छिर्ने जोडी यही एक मात्र हो । जुली महतो धनुषा ३ र रघुवीर महासेठ धनुषा ४ बाट प्रत्यक्षबाट निर्वाचित भएका हुन् । जुली महतोका दाइ वीरेन्द्र महतो जसपाबाट सिरहा ४ बाट विजयी भएका छन् ।
एमालेका नेता भीम आचार्य कांग्रेस नेता सीताराम महतोलाई हराउँदै सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । आचार्यकी श्रीमती मीरादेवी खनाल आचार्य प्रदेश १ को समानुपातिक सांसद हुँदैछिन् । मीरादेवी खसआर्य क्लस्टरबाट सांसद बन्न लागेकी हुन् ।
दाजु–बहिनी पनि सँगसँगै
दाजु–बहिनी अहिलेको ससद्मा सँगसँगै देखिनेछन् । त्यसरी आउनेमा माओवादी केन्द्रका नेताहरू अगाडि छन् । रुकुम पश्चिमबाट प्रत्यक्षमा जितेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माकी बहिनी समानुपातिकमा सांसद बन्दैछिन् । शर्माकी बहिनी नारायणी शर्मा शनिबार निर्वाचन आयोगलाई बुझाएको अन्तिम सूचीमा छिन् ।
प्रतितिनिधिसभामा यी दाइ–बहिनी पनि पाँच वर्ष सँगै हुनेछन् ।
जाजरकोटबाट प्रत्यक्ष जितेका माओवादीका उपमहासचिव शक्ति बस्नेतकी बहिनी ज्ञानु बस्नेत पनि समानुपातिक सांसद बन्ने भएकी छिन् । ज्ञानु बस्नेत चितवनबाट सामानुपातिक सूचीमा परेकी थिइन् । माओवादीबाट तीन जना समानुपातिक सांसद पाउने चितवन सबैभन्दा भाग्यमानी जिल्ला बन्न पुगेको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा सक्रिय हुँदै सांसद हुने यी चार जना दाजु–बहिनी हुन् ।
ससुरा–बुहारी सांसद
ससुरा र बुहारी एकैसाथ संसद्मा पुग्ने अवसर पनि यो संसद्ले पाएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ससुरासँगै संसद्मा हुनेछिन् । श्रेष्ठ कैलाली १ बाट निर्वाचित भएकी हुन् भने ससुरा लालवीर चौधरी बर्दिया २ बाट निर्वाचित भएका हुन् ।
श्रेष्ठका श्रीमान् रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले स्थानीय तहबाट चुनावमा भाग लिएको हो । स्थापना भएको छोटो समयमै यो पार्टीले कैलालीमा ३ क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेको छ ।
रञ्जिताका ससुरा लालवीर चौधरीले बर्दिया क्षेत्र नं। २ बाट चुनाव जितेका हुन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थलाई झिनो मतले पराजित गरेका थिए । ससुरा र बुहारीले पाँच वर्ष संसद्मा कैलाली र बर्दियाको प्रतिनिधित्व गर्नेछन् ।
यी आफन्त सांसद हुन छुटे
माओवादी केन्द्रका उपमहासिचव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भए । उनकी श्रीमती ओनसरी घर्ती काठमाडौं २ बाट प्रतिनिधिसभाका लागि चुनाव लडेकी थिइन् तर पराजित भइन् ।
त्यस्तै, कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही ३ बाट प्रतिनिधिसभामा चुनाव लडेका थिए । तर, पराजित भए । उनी पराजित भए पनि उनकी श्रीमती मञ्जु खाँण भने समानुपातिकबाट संसद् छिर्दै छिन् ।
त्यस्तै, एमालेका महासचिव शंकर पोखरेल दाङ २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए । तर, उनी माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मासँग पराजित भए । उनी पारजित भए पनि उनकी बहिनी मेनुकाकुमारी पोखरेल समानुपातिकबाट प्रतिनिधिसभाको सांसद बन्ने भएकी छिन् ।
पुन र खाँणका श्रीमान्–श्रीमती र पोखरेलका दाजु–बहिनी सँगै संसद्सम्म पुग्न असफल भए ।