काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकासरको नेतृत्व आफूले पाउनुपर्ने बताएका छन्। यसअघि औपचािरक रूपमा प्रधानमन्त्रीको बारेमा प्रचण्ड बोलेका थिएनन् तर बिहीबार कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगको भेटमा मुख खोलेका हुन् । भेटमा प्रचण्डले कांग्रेसमा आन्तरिक किचलो रहेको भन्दै पहिलो चरणमा सरकारको नेतृत्व आफूले गर्दा गठबन्धन पनि जोगिने बताएका थिए ।
माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेको चर्चाका बीच प्रचण्डको मुड बुझ्न कांग्रेस नेता सिटौला बिहीबार खुमलटार पुगेका थिए । प्रचण्ड निवास खुमलटारमा सिटौलाले चुनाव जितेकोमा प्रचण्डलाई बधाई दिएर कुराकानी सुरु गरेका थिए । उनले कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै त्यसका लागि समयमै निर्णय गर्नुपर्ने बताएका थिए ।
तर, प्रचण्डले कांग्रेसभित्रको आन्तरिक रस्साकस्सीलाई आधार बनाउँदै आफूले सरकारको नेतृत्व गर्नुपर्ने बताएका हुन् । कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले आफू प्रधानमन्त्रीको दौडमा रहेको बताउँदै आएका छन् ।