कालीकोट बम विस्फोटमा परि दुई बालिकाको मृत्यु, तीन घाइते
जुम्ला : तिलागुफा नगरपालिका १० कालीकोटको रानावाडामा भएको बम विस्फोटमा दुई बालिकाको मृत्यु भएको छ ।कोदो बारीमा जाने बाटो नजिक आज बिहान ८ः५० बजे बम विस्फोट हुँदा रानावाडाका चार वर्षीय दुई बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार थापाको घटस्थल र रानाको उपचारको क्रममा मृत्यु भएको हो ।
“उक्त घटनामा ३ जना घाइते भएका छन्,” भने , “घाईते हुनेहरुमा तिलागुफा नगरपालिका १० कालीकोट रानावाडका तीन वर्षीय दर्शना राना, पाँच वर्षीय मुस्कान थापा र सात वर्षीय कमल थापा रहेका छन् ।” घाईते तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको बताए । पाँच बालबालिका कोदो बारी नजिकैको बाटोमा खेलिरहेको अवस्थामा अचानक बम विस्फोट भएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । उनका अनुसार खेल्दै गरेका बालबालिकासँग हँसिया रहेको खुलेको छ ।
बम विस्फोटस्थलमा प्वाल परेको जनाउँदै नजिकै दुई वटा बमका टुक्रा भेटिएको उनको भनाई छ । उक्त बम सकेट बम भएको अनुमान गरिएको छ । घटनाको विस्तृत जानकारी आइसकेको छैन । त्यसबारे अनुसन्धानका लागि नेपाल प्रहरीको प्रहरी निरीक्षक र नेपाली सेनाको बम डिष्पोजल टोली घटनस्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।








