देउसीभैलोमा संकलित रकम मिर्गौला पीडितलाई

तिहारमा रमाइलो गर्ने र संस्कृति जोगाउने भन्दै देउसीभैलो खेल्ने गरिन्छ। देउसीभैलोमा संकलित रकम धेरैले फजुल खर्च गर्छन्।सल्यानका केही युवाले भने यसरी संकलन भएको रकम मिर्गौला पीडितलाई सहयोग गरेका छन्। जिल्लाको शारदा नगरपालिका–१ पटनेरीका तीन समूहले देउसीभैलोबाट संकलन भएको रकम दुवै मिर्गौलाले काम गर्न छोडेका स्थानीय नवराज बोहरालाई सहयोग गरेका हुन्।
शारदा नगरपालिका–१ पटनेरीका पटनेरी युवा समूहले १६ हजार, साई समूहले ११ हजार ५ र पटनेरी साँस्कृतिक समूहले २० हजार गरी ४७ हजार ५ रुपैयाँ मिर्गौला पीडित बोहरालाई सहयोग हस्तान्तरण गरेका हुन्। शनिबार तीनवटै समूहका पदाधिकारी तथा सदस्यले पीडितको घरमै पुगी सामूहिक रूपमा रकम हस्तान्तरण गरेका हुन्।
देउसीभैलोबाट संकलित रकम पिकनिक तथा अनावश्यक खर्च गर्नुभन्दा दुःख परेकालाई सहयोग गरे पीडितलाई थोरै भए पनि राहत पुग्ने सोचका साथ रकम हस्तान्तरण गरिएको पटनेरी युवा समूहका रञ्जित भँडेलले जानकारी दिए। उनले भने, ‘आफ्नै गाउँका मानिस रकम अभावले छटपटाइरहँदा सहयोग गर्नु आफ्नो कर्तव्य ठानेका हौँ र सोही अनुसार सहयोग गरेका हौँ।’सहयोग रकम बुझ्दै मृगौला पीडित बोहराले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । थाहा खवर








